रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेपछि अमेरिका तनावमा
-
पुस १२,२०७६ काठमाडौं ।
रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्र जडान गरेको छ ।
रुसी रक्षा मन्त्रालयले ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे भने बताएको छैन । तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए ।
राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको बताएका छन् ।
ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई छेक्न असंभव हुने दाबी गरिएको छ ।
रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्ववपूर्ण भएको बताएका छन्।
पुटिनले मङ्गलवार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई विस्थापित गर्न सक्ने बताएका थिए ।
उनले भनेका थिए‘अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैनन्, क्षेप्यास्त्रको कुरै छाडौँ ।’
पुटिनले अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरेका थिए।
सन् २०१८ को डिसेम्बरमा सो क्षेप्यास्त्रले परीक्षणमा छ हजार किलोमिटर परको लक्ष्यलाई प्रहार गरेको थियो ।
अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्छ ।
रुसको रक्षा मन्त्रालयले अभानगार्ड प्रणालीको भिडिओ सार्वजनिक गरेपनि अस्त्र विज्ञहरूले सो हतियारको प्रभावकारितामाथि प्रश्न उठाएको बीबीसीले जनाएको छ ।
बीबीसीका रक्षा संवाददाता जनाथन मार्कसले रुसले दाबी गरे अनुसार ती क्षेप्यास्त्र प्रणाली जडान गरिएको वा परीक्षणकै रूपमा रहेको पुष्टि गर्न गाह्रो हुने बताएका छन् ।