पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि चितवन राइनोजले जित्यो
-
पुस १२,२०७६ काठमाडौं ।
चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ ।
शनिवार भएको फाइनल खेलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । जितसँगै चितवनले राइजोजले २७ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता विराटनगरले १० लाख रुपैयाँ मा चित्त बुझाएको छ ।
पोखरा रंगशालामा २ सय ३ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरको खेलमा १७० रनमा समेटिएपछि पारस खड्काको कप्तानीमा रहेको चितवन अपराजित रहँदै उपाधि जित्न सफल भएको हो ।
पहिलो ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय २ रन जोडेको थियो । चितवनका लागि अनिल कुमार साह र रोहन मुस्ताफाको अर्धशतक बनाए ।
ओपनिङमा आएका मुस्ताफाले ५० रन बनाए । कप्तान पारस खड्कासँगै क्रिजमा आएका उनले ४३ बलको सामना गर्दै ४ चौका र १ छक्का प्रहार गरेका थिए ।