आषाढ ०१,२०७४
-
असार १ -
इंग्ल्यान्डमा जारी आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटमा प्रतियोगिताकै कम्जोर मानिएको पाकिस्तानले प्रतियोगिताकै दाबेदार मानिएको इङ्ल्यान्डलाई हराउदै फाइनलमा प्रवेश गरेको छ ।
वेल्सको कार्डिफमा बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा आयोजक इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तान च्याम्पियन्स ट्रफिको फाइनलमा प्रवेश गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४९.५ ओवरमा अलआउट २११ रन बनायो । २१२ रनको लक्ष्य पाएको पाकिस्तानले ३७ ओभर १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।
समूह चरणको सबै खेल जितेर अपराजित रहेको इङ्ल्यान्डका कुनै पनि ब्याट्सम्यानले अर्धसतक बनाउन सकेनन् । इंग्ल्यान्डका लागि जोय रुटले ४६, जोनी ब्रेसट्वोले ४३ तथा बेन स्टोक्सले ३४ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै इंग्ल्यान्डका कप्तान इयान मोर्गनले ३३ रन बनाए भने एलेक्स हेल्सले १३ रन जोडे । इंग्ल्यान्डको दह्रो ब्याटिङ लाइन–अपलाई कम अंकमा रोक्न पाकिस्तानका हसन अलीले ३ तथा जुनेद खान र रुममान रईसले समान २ – २ विकेट लिए ।
२ सय १२ रनको सामान्य लक्ष्य पाएको पाकिस्तानका लागि ओपनर अजहर अली र फखर जमानले पहिलो विकेटमा ११८ रनको साझेदारी गरे । अलिले ५ चौका र १ छक्काको मद्दतमा ७६ तथा फखर जमानले ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, पाकिस्तानका बाबर आजमले ३८ तथा मोहम्मद हाफिज ३१ रनमा अविजित रहे । इंग्ल्यान्डका जेक बल र अदिल रशिदले समान एक एक विकेट लिए ।
विहिबार च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेश बिच हुदैछ । भारत र बंगलादेश बिचको खेलबाट विजयी हुने टोलीसँग पाकिस्तानले फाइनल खेल्नेछ।
प्रमुख समाचार
सम्वन्धित समाचार