Trending :
 

चन्द्रमामा पुग्ने भारतको तेस्रो योजना सार्वजनिक

पौष १७,२०७६

-

पुस १७,२०७६ काठमाडौं ।
विक्रम ल्यान्डर नामक यान अवतरण गर्ने क्रममा चन्द्रमाको सतहमा ठोक्किएको केही महिनापछि भारतले तेस्रो पटक चन्द्रमामा पुग्ने योजना सार्वजनिक गरेको छ।
 
भारतीय अन्तरिक्ष केन्द्र इसरोका अध्यक्ष के. शिवनले मानवरहित चन्द्रयान ३ मिसनसम्बन्धी कार्य सहज रूपमा अघि बढिरहेको बताएका छन्।
 
उनका अनुसार उक्त मिसन सन् २०२० भित्रै प्रक्षेपण गर्ने तयारी भए पनि त्यो योजना सन् २०२१ सम्म पुग्न सक्ने सम्भावना छ।
 
योजना सफल भए भारत चन्द्रमामा सफ्ट ल्यान्डिङ गर्न सफल चौथौँ राष्ट्र हुनेछ जसले कम लगानीसहितको अन्तरिक्ष शक्तिका रूपमा उसको साख बढाउनेछ।
 
चन्द्रमाको सतहमा हालसम्म रुस, अमेरिका र चीन मात्रै सफल मिसन कार्यान्वयन गर्न सफल भएका छन्।
 
यसअघि सन २००८ मा भारतले चन्द्रयान १ प्रक्षेपण गरेको थियो जसले चन्द्रमाको सुक्खा सतहमा पानीका अणुहरू रहेको पत्ता लगाएको थियो।
 
यसै वर्ष प्रक्षेपण गरिएको चन्द्रयान २ ले तिनै विवरणमा टेकेर थप अनुसन्धान गर्ने अपेक्षा भारतीय वैज्ञानिकहरूले गरेका थिए।
 
चन्द्रयान २ मिसनको सफलता अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका लागि पनि सहयोगी साबित हुने ठानिएको थियो जसले सन् २०२४ मा चन्द्रमाको दक्षिणी ध्रुवमा मिसन पठाउने योजनामा काम गरिरहेको छ।