उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्नेमा प्रचण्डको जोड
-
पुस १७,२०७६ काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।
चितवनको रत्ननगर-५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको बिहिबार उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्नेमा जोड दिए ।
कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाउनुपर्ने उनको जोड छ ।
मासु, अण्डा, फलफूल र तरकारीमा देश आत्मनिर्भरताको दिशातर्फउन्मुख भएको प्रचण्डको भनाई थियो ।
संविधानले नेपालको अर्थ व्यवस्थालाई तीन खम्बे नीति भनेर परिभाषित गरेको जनाउदै प्रचण्डले सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारीको सहकार्यबाट मात्रै नेपालको आर्थिक विकास सन्तुलितरुपमा अघि बढने विस्वास व्यक्त गरे. ।
अध्यक्ष दाहालले पार्टी र सरकार दुवैले सामाजिक न्यायसहितको समाजवादको आधार तयार गर्ने र किसानलाई आत्मनिर्भर अर्थतन्त्रको पक्षमा काम गर्न अग्रसर बनाउँदै लगेको दाबी गरे ।
समाजमा पछि परेका समुदायलाई सङ्गठित गर्दै वृद्धि विकाससँगै सामाजिक र आर्थिक विकासको मूल धारमा ल्याउन सहकारीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ ।
अध्यक्ष प्रचण्डले नेपालको संविधानले समाजवादउन्मुख राज्य व्यवस्थाको परिकल्पना गरेको बताए ।
नेपाल कृषि, सहकारी केन्द्रीय सङ्घले कूल तीन करोड ८० लाखको लागतमा भवन निर्माण गरेको हो ।
जसमा नेपाल सरकारको ८० प्रतिशत र सहकारीको २० प्रतिशत लगानी रहेको छ । रासस