सरकारी अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा बिरामी नीजिमा पठाउने गरेकाे खुलासा

पौष २२,२०७६

-

पुस २२, २०७६ काठमाडौं ।
 
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले अस्पतालकै कर्मचारीहरुको मिलेमतोमा बिरामीहरुलाई नीजि अस्पताल पठाउने गरेको पाइएको बताएका छन् । 
 
कान्ति बाल अस्पतालको वार्षिकोत्सव कार्यक्रममा स्वस्थ्यमन्त्री ढकालले अस्पतालका जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकको मिलेमतोमा विरामी निजी अस्पताल पठाउने गरेको पाइएको बताएका हुन् । 
 
आस्थाको केन्द्र अस्पताल भएपनि आफै विरामी भयो भने विरामीहरुको हालत स्वभाविक रुपमा निको नहुने भन्दै ढकालले उपचारका लागि सरकारी अस्पतालमा आउने विरामीलाई नीजिमा पठाउने गरिएको बताए । 
 
 
‘धेरै अस्पतालमा बिरामीहरु सुरुमा सरकारीमा आउँछन् । बीचको अवधिमा काजमा बाहिर जान्छन् । फेरि सरकारी अस्पतालमै आउँछन भन्ने कुरा सुनेको छु’, उनले भने, ‘‘जिम्मेवार कर्मचारी, एम्बुलेन्स चालक र ट्याक्सी चालकसम्मको मिलेमतोमा सरकारीबाट अर्को ठाउँमा पु¥याए बाफत कमिसन लिन्छन र विरामी त्यही थला पर्छ । अन्तिममा फेरी बिरामी पार नलागेपछि सरकारी अस्पतालमै काज फिर्ता गराउँछन् ।’
 
मन्त्री ढकालले चिकित्सकहरुको आचरण र व्यवहारमा सुधार गर्न सकेमात्रै सरकारी अस्पतालको अवस्था सुधार गर्न सकिने बताए । निजी क्लिनिकहरुको घेराबन्दीमा अस्पताल पर्नु राम्रो नभएको मन्त्री ढकालले बताए । 
 
उनले कर्मचारी सरुवा गर्दा शुल्क बुझाउने परिपाटीको निर्ममतापूर्वक अन्त्य गर्ने र औषधि खरिदबिक्रिमा हुने कमिसनको खेल अन्त्य गर्ने प्रतिवद्धता जनाए । 
 
मन्त्री ढकालले आफ्नो कार्यकालमा मेडिकल काउन्सिललाई पूर्णता दिएको, नर्सिङ काउन्सिलमा एक सदस्यबाहेक सबैमा पदपूर्ति गरेको पनि बताए ।