Trending :
 

इरानमा सुलेमानीको अन्तिम दाहसंस्कारमा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु

पौष २२,२०७६

-

पुस २२, २०७६ काठमाडौं ।
 
अमेरिकाले गत साता हवाई आक्रमण गर्दा मृत्यु भएका इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको शवयात्रामा भागदौड हुँदा कम्तीमा ३५ जनाको मृत्यु भएको इरानी सञ्चारमाध्यमले जनाएको छ ।
 
सुलेमानीलाई उनको गृहनगर केर्मानमा समाधिस्थ गर्न लाग्दा उनको अन्तिम संस्कारमा लाखौँ मानिसहरू भेला भएका छन् ।
 
आपत्कालीन सेवाका अधिकारीहरूले मानिसहरू हताहत भएको पुष्टि गरेका छन् । इरानबाट प्राप्त विवरणअनुसार दर्जनौँ मानिसहरू घाइते भएका छन् ।
 
शोकाकुल मानिसहरूले सुलेमानीको तस्बिर र रातो झण्डा बोकेका थिए । शिया परम्पराअनुसार रातो झण्डाले प्रतिशोधको सङ्केत गर्छ ।
 
इरानले उनको हत्याको प्रतिशोध लिने उद्घोष गरिसकेको छ ।
 
केही दिनदेखि इरानका विभिन्न स्थान हुँदै उनको गृहनगरसम्म सुलेमानीको शवयात्रा गरिएको थियो ।
 
उनको शवलाई शहीदका लागि बनाइएको एउटा चिहानमा समाधिस्थ गरिँदैछ ।
 
सुलेमानीको मृत्युपछि अमेरिका र इरानबीच तनाव चुलिएको छ ।
 
इरानको विशिष्ट सैन्य बल कूड्स फोर्सका प्रमुख सुलेमानीलाई सर्वोच्च नेता आयतूला अली खामनेईपछि दोस्रो लोकप्रिय नेता मानिन्थ्यो ।
 
तर अमेरिकाले उनलाई आतङ्ककारी घोषणा गरेको थियो ।
 
बीबीसी