चितवनमा विषादी प्रयोगमुक्त सप्ताह शुरु

पौष २४,२०७६

-

पुस २४,२०७६ काठमाडौं ।
चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह-२०७६’ शुरु भएको छ । 
 
विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले बुधबारदेखि सप्ताह शुरु भएको हो ।
 
नेपालमा सन् २०१३ देखि विषादी प्रयोग मुक्त दिनका रुपमा मनाउन थालिएको हो । यस वर्षको नारा ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने तय गरिएको छ । 
 
नेपालमा सन् १९५२ मा मलेरिया रोग नियन्त्रणका लागि भित्र्याइएको विषादी त्यसपछिका वर्षहरुमा कृषि उत्पादनको क्षेत्रमा प्रयोग गर्न थालिएको हो । 
 
यसको मात्रा प्रतिवर्ष बढ्दै गएको प्लान्ट क्वारेन्टाइन एवं विषादी व्यवस्थापन केन्द्र, ललितपुर जनाएको छ । अन्य देशको तुलनामा प्रतिएकाइ जमिनमा विषादीको प्रयोग निकै कम भए पनि ८५ प्रतिशत बढी विषादी तरकारी बालीमा मात्र प्रयोग हुने गरेको सरकारी तथ्याङ्कमा उल्लेख छ । 
 
गत वर्ष मात्र नेपालमा ६३२।४१ टन विषादी आयात भएको छ । जसमा कीटनाशक २१६ टन, रोगनाशक २६७ टन, झारनाशक १४२ टन र अन्य पाँच टन रहेको छ । विषादी आयातका लागि करिब रु ८४ करोड गत वर्ष खर्च भएको छ । 
 
विषादीले मानव जीवनमा तत्काल तथा दीर्घकालीन असर गर्ने गर्दछ । जसमा तत्काल असरको रुपमा मानिस मुर्छा पर्ने, झाडा पखाला लाग्ने, कम्पन, दृष्टि कमजोर तथा अन्ततः मृत्युसमेत हुने गरेको छ । विषादीकै कारण विश्वमा वार्षिक करिब तीन लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ । रासस