इरान– अमेरिका तनावले तेलको मुल्यमा असर नपर्ने
-
काठमाडौं – इरान र अमेरिकाबीचको तनावले अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको आपूर्तिमै असर पर्ने आशंका गरिए पनि नेपाली बजारमा भने अहिले नै त्यसको प्रभाव नपर्ने भएको छ ।
मंगलबार मध्यराति इरानले इराकस्थित अमेरिकी सेनाको आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेपछि एसियाली बजारमा कच्चा तेलको मूल्य २.५ प्रतिशतले बढेको थियो । अहिले एसियाली बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ६९.९४ अमेरिकी डलर पुगेको छ ।इरान र अमेरिकाबीचको तनावले तेल आपूर्तिमा नै असर पर्न सक्ने आशंका पछि केही देशले अहिले तेल निर्यातलाई कम गरेर भण्डारणतर्फ ध्यान दिन थालेका खबर पनि आइरहेका छन् ।
तर, नेपालमा भने तत्कालै तेल आपूर्तिमा कुनै असर नपर्ने नेपाल आयल निगमको भनाइ छ ।
निगम स्रोतका अनुसार मध्यपूर्वको तनावले केही आशंकाहरु बढाए पनि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिने छैन । मध्यपूर्वको तनावले तेल आपूर्तिमा ने असर पर्छ कि आशंकाहरु उब्जिएका छन् । तर, नेपालसम्म त्यसको प्रत्यक्ष असर देखिँदैन निगमका अधिकारीहरुले भने ।
आईसीले प्रशोधन गर्ने कूल तेलको हिस्सामध्ये बढीमा २ प्रतिशत मात्रै नेपालले किन्छ । प्रशोधन गर्नेमध्ये नेपालले धेरै कम तेल किन्ने गरेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दा नेपालमा पनि त्यसको केही असर भने देखा पर्न सक्ने संभावना जिवितै छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा मूल्य बढ्दा या घट्दा हाम्रोमा पनि बढ्ने र घट्ने भइरहन्छ । पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । यस्तो मूल्य बढ्ने क्रम जारी रहे यहाँ पनि त्यसको असर देखा पर्न सक्छ । आईसीले मूल्य बढेको सूची बढाए पछि मात्रै नेपालले मूल्य बढाउने हो । मूल्य पनि अहिलेको अहिल्यै बढ्ने होइन । १० दिनलाई पुग्ने तेल मौज्दात अझै छ । नेपाल आयल निगमसँग हाल ७१ हजार किलोलिटर (७ करोड १० लाख लिटर) तेल भण्डारण गर्ने क्षमता छ ।
यदि कुनै कारण तेलको आपूर्ति रोकिए नेपाल आयल निगमले आफ्नो भण्डारण गृहमा राखेको तेलले १० दिनसम्मको माग धान्ने गर्छ । आयल निगमसँग हाल काठमाडौं, अमलेखगञ्ज, विराटनगर, जनकपुर, मैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत, धनगढी र दिपालयमा फरक–फरक क्षमताको भण्डारण गृह छन् । जसमा हाल पेट्रोल ५ हजार १ सय ८४, डिजेल ४२ हजार ४ सय र हवाई इन्धन ८ हजार ४ सय किलोलिटर भण्डारण गरेर राखिएको हुन्छ ।