आषाढ ०२,२०७४
-
असार २ -
सलमान खानको निमार्ण र अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ट्युबलाइट पाकिस्तानमा प्रदर्शनमा नआउने भएको छ ।
इदको अवसर पारेर विश्वभर प्रदर्शनमा आउन लागेको ट्युबलाइट पाकिस्तानका सिनेमा घरमा नलाग्ने भएपछि खानका पाकिस्तानी प्रशंसकहरु निराश भएका छन् । भारतीय चलचित्र निर्यात संघका अध्यक्ष हिराचन्द दण्डले पाकिस्तानमा दुई ठूला चलचित्र इदकै अवसरमा प्रदर्शनमा आउन लागेकाले पाकिस्तानी वितरकहरु ट्युबलाइटको प्रदर्शन गर्न हिचकिचाएको बताए ।
दुई पाकिस्तानी चलचित्रहरु ‘यालघार’ र ‘शोर शराबा’को प्रदर्शन मिति ट्युबलाइटको प्रदर्शनसँग जुधेकाले ट्युबलाइट निर्माताले पाकिस्तानबाट हुने आम्दानी गुमाउने भएको छ । ‘यालघार’ पाकिस्तानका साथै बेलायत, अमेरिका र चीनमा पनि एकैसाथ प्रदर्शनामा आउन लागेको हो ।
पाकिस्तानमा सलमान खानका लाखौं प्रशंसकहरु रहेका छन् । कबिर खानद्वारा निर्देशित चलचित्र ट्युबलाइट हलिउड चलचित्र ‘लिटल ब्वाय’को हिन्दी रिमेक हो ।
चलचित्रमा सलमान खानका साथै सोहेल खान, ओम पुरी, चिनियाँ कलाकार झु झुलगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र सन् १९६२ को भारत–पाकिस्तान युद्धको विषयमा आधारित छ ।
प्रमुख समाचार