इरानकी एक मात्र ओलम्पिक महिला विजेता किमियाद्वारा देश छोड्ने घोषणा

पौष २८,२०७६

-

पुस २८,२०७६ तेहरान ।
 
इरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलिजादेशले देश छोड्ने बताएकी छन् । २१ वर्षीया उनले यसबारेमा सामाजिक सञ्जालमा लेखेकी छन्, ‘‘पाखन्ड, झूठ, अन्याय र चाप्लुसी’को हिस्सा बन्न चाहन्न ।’’
 
उनले आफूलाई इरानमा सताइएका लाखौं महिला मध्येमा एक भएको जनाएकी छन् । किमियाले आफू कहाँ छु नभने पनि तालिमको सिलसिलामा उनी नेदरल्यान्डसमा भएको हुन सक्ने इरानी मिडियाले जनाएका छन् ।
 
उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कास्य पदक जितेर इरानको लागि इतिहास रचेकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालको पोस्टमा इरानका अधिकारीहरूले उनको सफलतालाई आफ्नो प्रोपगान्डाका रूपमा प्रयोग गरेको आरोप लगाएकी छन् ।
 
इरानमा हालै मिसाइल प्रहारका कारण बिमान दुर्घटना भएको खुलासापछि आन्दोलन चर्किरहेकै बेलामा उनको यो घोषणा आएको हो । बीबीसी