Trending :
 

बागलुङमा रोजगारी सिर्जना गर्ने उद्योगलाई कर छुट

पौष २९,२०७६

-

पुस २९,२०७६ काठमाडौं ।
बागलुङ नगरपालिकाले रोजगारी सिर्जना हुने गरी खोलिने सेवा तथा उत्पादनमूलक उद्योगमा कर छुट दिने भएको छ । सोमबार सम्पन्न छैँटौँ नगरसभाले स्थानीय स्रोत, साधनको प्रयोग गरी सञ्चालन हुने उद्योग, व्यवसायलाई करमा सहुलियत दिने निर्णय गरेको हो ।
 
नगरपालिकाले कम्तीमा २० जनालाई रोजगारी सिर्जना गर्ने गरी खोलिने होटललगायत सेवा तथा उत्पादनमूलक उद्योगमा लाग्दै आएको वार्षिक करमा पाँच वर्षसम्मलाई ५० प्रतिशत छुट दिने भएको हो ।
 
यस्तै उद्योग, व्यवसायका लागि बन्ने भवनको नक्सापास दस्तुरमा पूरै छुट दिने निर्णय गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत डण्डपाणि शर्माले जानकारी दिए ।
 
उद्योग बन्ने ठाउँमा सडक, खानेपानी, बिजुलीलगायतका सुविधा पु¥याउन पनि नगरपालिकाले विशेष सहयोग गर्ने छ । नेपाल भ्रमण वर्षसँगै नगरपालिकाले घोषणा गरेको बागलुङ भ्रमण वर्ष-२०७७ लाई लक्षित गरी सेवामूलक उद्योगको प्रवद्र्धन गर्न नगरपालिकाले कर छुटको योजना ल्याएको छ । 
 
उद्योग, व्यवसायमैत्री वातावरण सिर्जना गरी नगरको आर्थिक विकासलाई गति दिइने नगरपालिकाले जनाएको छ ।
 
छुट योजनाले लगानीकर्ता आकर्षित हुने विश्वास लिइएको छ । जिल्लामा हाल स-साना घरेलु तथा मझौला उद्योग सञ्चालनमा रहे पनि ठूलो रोजगारी सिर्जना गर्ने खालका उद्योग छैनन् । सरकारको ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को लक्ष्यअनुरुप नगरपालिकाको पनि औद्योगिक ग्राम निर्माणको प्रक्रिया अगाडि बढेको छ ।
 
नगरसभाले नगर प्रहरीसम्बन्धी विधेयक-२०७६ लाई पारित गरेको छ । यस्तै वडा नं ६ सिमदेखि वडा नं ७  कालीमाटीसम्मको सडक स्तरोन्नतिका लागि प्रदेश सरकारबाट प्राप्त बजेट ७५ लाखलाई नगरको कूल बजेटमा समावेश गर्ने निर्णय गरेको छ । योसँगै चालू आवमा नगरको बजेट एक अर्ब, तीन करोड ३२ लाख पुगेको छ ।