घानामा कामदार पठाएर ठगी गर्ने म्यानपावरलाई एक करोड २१ लाख जरिवाना

माघ ०६,२०७६

-

माघ ६, २०७६ काठमाडौं ।
 
वैदेशिक रोजगार विभागले घानामा सुरक्षा गार्ड पठाउने नाममा ठगी गरेको म्यानपावर कम्पनीलाई एक करोड २१ लाख रुपैयाँ क्षतिपूर्तिसहित जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।
 
 
विभागले बीएण्डबी एचआर म्यानेजमेन्ट कम्पनीमाथि १५ जना पीडितलाई क्षतिपूर्ति र जरिवाना बापतको रकम तिर्नुपर्ने निर्णय गरेको हो । म्यानपावरले मासिक एक हजार ५ सय ७० अमेरिकी डलर तलब पाउने भन्दै प्रतिव्यक्ति ११ लाख रुपैयाँसम्म असुलेको थियो ।
 
 
घाना पुगेर फर्केका कामदारले म्यानपावर विरुद्ध उजुरी दिएपछि बिभागले कारबाही गरेको जानकारी विभागका निर्देशक हरिप्रसाद ज्ञवालीले दिए । 
 
विभागले ८ जना पीडितलाई ५८ लाख ३० हजार क्षतिपूर्ति दिनुपर्ने र ७ जनालाई ५९ लाख ७६ हजार ४ सय क्षतिपूर्ति तिर्नुपर्ने निर्णय गरेको हो । पीडितलाई म्यानपावरको धरौटीबाट कट्टा गरी क्षतिपूर्ति दिइने जानकारी ज्ञवालीले दिए ।
 
वैदेशिक रोजगार ऐन अनुसार म्यानपावरले पुनरावेदन गर्न पाउने भएकाले पीडितले ३५ दिनपछि मात्रै क्षतिपूर्ति बापतको रकम पाउनेछन् । म्यानपावरले घानामा कामदार पठाउन विभागसित पूर्वस्वीकृति लिएको थिएन ।
 
म्यानपावारले नक्कली कागजातमा पठाइएका कतिपय नेपाली यूएईको विमानस्थलबाट फर्काइएका थिए । पठाएकामध्ये ४ जना घाना पुगेर फर्केका थिए । घानामा एक महिना अलपत्र परेर फर्केका सन्तोष थापाले आफूहरूलाई निकै टाढाको जंगलमा लगेर राखिएको वताए ।
 
विभागले म्यानपावर र यसका सञ्चालकलाई थप कारबाहीका लागि प्रहरीलाई समेत आग्रह गरेको छ । विभागको अनुमति बिना कामदार पठाएमा प्रहरीले समेत दोषी म्यानपावर सञ्चालकमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई मानव बेचबिखन मुद्दामा कारबाही अगाडि बढाउन सक्ने कानुनी व्यवस्था छ ।