एनभीए च्याम्पियनसिपः पुरुषतर्फ आर्मी र एपीएफ सेमिफाइनलमा
-
माघ ८,२०७६ काठमाडौं ।
विभागीय टोली एपीएफ क्लब एनभीए पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वाटरफाइनल खेलमा एपीएफले बुद्ध टोललाई सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा बुधबार भएको खेलमा एपीएफले बुद्धलाई पहिलो सेटमा २५-१८ पराजित गरेको एपीएफले दोस्रो सेटमा २५-१७ र २५-११ को सेटमा पराजित गरेको थियो ।
जितसँगै एपीएफले सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि भएको पहिलो क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले सेमिफाइनल यात्रा तय गर्ने क्रममा मणिमुकुन्दलाई २५-१९, २५-१८ र २५-१७ को सोझो सेटले पराजित गरेको हो ।
नेपाल भलिबल संघ (एनभीए) को आयोजना तथा राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) को मुख्य प्रायोजनमा जारी प्रतियोगिताको यो पाँचौं संस्करणको महिला पुरुष दुवैतर्फका विजेताले २ लाख, दोस्रो हुने टोलीले १ लाख र तेस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी सर्वोत्कृष्ट महिला पुरुष खेलाडीले समान २५ हजार रुपैयाँ पाउदा विधागतका उत्कृष्ट खेलाडीहरुले समान १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।