Trending :
 

नेपालमा देखिएको ‘कोरोना भाइरस’ अन्य मुलुकको जस्तो खतरनाक छैन: चिकित्सक

माघ ११,२०७६

-

माघ ११, २०७६ काठमाडौं ।
 
नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य मुलुकमा देखिएको जस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् । 
 
शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य मुलुकमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताए । 
 
अमेरिका लगायतका मुलुकमा लेदिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उनले बताए । 
 
प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि’, उनले भने, चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन ।’
 
त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताए । 
 
अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उनको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उनले दावी गरे । 
 
“कोरोना भइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ ।” उनले भने ।
 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताए । 
 
विश्वभरी फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउँदै उनले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताए । 
 
 
नेपालमा एकजनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उनले बताए । 
 
चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उनले जानकारी दिए । 
 
कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको उनले बताए ।