Trending :
 

चीनबाट फर्किएका नेपालीलाई दुई सातासम्म क्‍वारेन्टाइनमा राखिने

माघ १९,२०७६

-

माघ १९, २०७६ काठमाडौं ।
 
नेपाल सरकारले चीनको वुहानमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउने तयारी थालेको छ । चीनबाट नेपाल ल्याइने नेपालीहरुलाई दुई हप्तासम्म क्‍वारेन्टाइन (छुट्टै स्थानमा निगरानीमा) राखिने भएको छ । 
 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठका अनुसार बेइजिङस्थित नेपाली दूतावासले वुहानमा रहेका नेपाली विद्यार्थीहरुलाई सुरक्षित तवरले ल्याउने फारम भर्ने सूचना जारी गरेको र उक्त फारममा उल्लिखित विवरण भर्नसमेत आग्रह गरेका छन् । 
 
उनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, चीनबाट प्रस्थान गर्ने विमानस्थलमा स्वास्थ्य परीक्षण हुने, त्यहाँबाट नेपाल आउने यात्रुको त्रिभुव अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गरी संक्रमित यात्रुलाई उपत्यकाका तोकिएका अस्पतालहरुमा आइसोलेसन वार्डमा रखी उपचार हुने र अन्य यात्रुलाई दुई हप्ता निगरानीका लागि छुट्टै स्थान (क्‍वारेन्टाइन) मा राख्‍नुपर्ने अन्तर्राष्ट्रिय नियमनका प्रावधान पालना गर्न सूचित गरिन्छ ।
 
चीनको हुबेई प्रान्तमा रहेका सबै नेपालीलाई विमान चार्टर गरेर नेपाल ल्याइने निर्णय गरेकोछ । चीनमा रहेको नेपाली दूतावासले पनि सूचना जारी गर्दै सम्पर्कमा रहनसमेत आग्रह गरिसकेको छ । 
 
सूचनामा उद्धारका लागि विमान चार्टर गरिएको जानकारी दिइएको थियो । दूतावासले आइतबासम्म फर्म भर्न आग्रह गरेको छ । 
 
काठमाडौंमा नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका दुईवटा जहाज तयारी अवस्थामा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भट्टराईले जानकारी गराएका थिए ।
 
चीनको वुहान क्षेत्रमा करिब दुईसय नेपाली रहेको अनुमान छ । अहिलेसम्म अन्य देशले पनि विमान चार्टर गरेर आफ्ना नागरिकलाई स्वेदश फिर्ता गरेका छन् ।