Trending :
 

चीनको करामतः दश दिनमै हजार शैयाको अस्पताल निर्माण गरी सेवा सुचारु

माघ २०,२०७६

-

माघ २०,२०७६ काठमाडौं।
 
कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि चीनले १० दिनमा एक हजार शैयाको आस्पताल निर्माण गरेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि चीनले त्यसको उपचारका लागि नयाँ अस्पताल सञ्चालन गरेको छ ।
 
नयाँ अस्पतालमा विशेषज्ञ, चिकित्सक र स्वास्थ्यकर्मीसहित एक हजार भन्दा बढी संलग्न हुने बताइएको छ । यस्तै अन्य शहरहरुमा पनि नयाँ अस्पताल निर्माण हुने क्रममा रहेको र एक साताभित्रै सञ्चालनमा आउने चिनियाँ अधिकारीहरुलाई उध्रित गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
 
चीनको वुहान शहरबाट गत डिसेम्बरमा सुरु भएको कोरोना भाइरसका कारण चीनमा मात्र मर्नेहरुको संख्या तीन सय नाघिसकेको छ भने १४ हजार भन्दा बढी प्रभावित भएका छन् ।
 
अन्य देशमा पनि उक्त भाइरसको संक्रमण बढ्दै गएको छ । अधिकांश देशहरुले चीन भ्रमण गरेका नागरिकलाई आफ्नो देशमा प्रवेशमा रोक लगाएका छन् ।
 
यसैबीच हङकङका स्वास्थ्यकर्मीहरुले चीनसँगको सीमा नाका बन्द गर्न माग गरेका छन् । उनीहरुले बढ्दो संक्रमण फैलन नदिन सीमा नाका बन्द नगरिए हड्तालमा उत्रने चेतावनीसमेत दिएका छन् ।
 
तर विश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अधिकारीहरुले सीमा नाकामा चेकजाँचमा कडाइ गरेर आवागमनलाई सहज बनाउनुपर्ने बताएका छन् ।
 
उनीहरुले आवतजावत बन्द गरे सूचना आदानप्रदानमा समेत अफ्ठेरो हुने भन्दै आपतकालीन अवस्थामा सूचना आदानप्रदान सहज गराउन माग गरेका छन् ।
 
चीन सरकारले भाइरसबाट प्रभावितको संख्या १४ हजार रहेको बताएपनि हङकङले उक्त तथ्यांकमा आशंका व्यक्त गरेको छ ।
 
हङकङ विश्वविद्यालयका अधिकारीहरुले चीनमा ७५ हजारभन्दा बढी प्रभावित भएपनि सूचना लुकाइएको दाबी गरेका छन् । बीबीसी