नेपाल महङ्गो देश मध्ये एक सय २२ औँ स्थानमा, स्वीट्जरल्यान्ड विश्वकै पहिलो महङ्गो देश
-
माघ २३,२०७६ काठमाडौं ।
स्वीट्जरल्यान्ड विश्वको सबैभन्दा महङ्गो देश बनेको छ भने नर्वे दोस्रोमा र आइसल्यान्ड तेस्रोमा रहेको नयाँ डाटाले देखाएको छ ।
१३२ वटा देशहरुमा गरिएको सर्र्वेक्षणमा उपभोग्य वस्तु, कपडा, र ट्याक्सी शुल्क मापन गरि अमेरिकाको सबैभन्दा महङ्गो सहर न्युयोर्कलाई बेन्चमार्कका रुपमा राखेर सूची तयार पारिएको हो ।
यसमा डनेमार्क, लक्जेम्बर्ग सहित जापान, बहमास, इजरायल, सिंगापूर र दक्षिण कोरिया पनि क्रमशः तेस्रोदेखि नवौँ स्थानसम्म रहेका छन् ।
अमेरिका भने २० औँ स्थानमा परेको छ । त्यस्तै, बेलायत २७ औँ मा रहेको बताइएको छ ।
अनुसन्धानकर्ताहरुले कुनै पनि देशमा बस्ने खर्च अन्तर्गत भाडादर, लुगा, ट्याक्सी शुल्क, इन्टरनेट, घरेलु उपभोग्य वस्तु, यातायात र खाद्य वस्तुको मुल्यका अध्ययन गरेका हुन् ।
यसका लागि बेन्चमार्क मानिएको न्युयोर्कलाई १०० नम्बर दिएर यसकै तुलनामा अन्य मुलुकलाई पनि स्कोर दिइएको हो ।
तर केबल तीनवटा देश, स्वीट्जरल्यान्ड, नर्वे र आइसल्यान्ड मात्र न्युयोर्कभन्दा महङ्गा देशमा परेका हुन् ।
यसमा स्वीट्जरल्यान्डको स्कोर १२२.४ रहेको छ भने् नर्वेको १०१.४ छ ।
विशेषगरी घरेलु उपभोग्य वस्तु र रेस्टुरेन्टहरुमध्येमा स्वीट्जरल्यान्ड सबैभन्दा महङ्गो रहेको पाइएको हो ।
इकोनोमिस्ट इन्डेक्सका अनुसार स्वीट्जरल्यान्डमा एउटा बर्गरको मूल्य मात्र ६.५ स्वीस फ्राङ्कस अर्थात ६.६८ अमेरिकी डलर रहेको छ जुन विश्वकै सबैभन्दा महङ्गो बर्गर हुन पुग्छ ।
त्यसैले पनि विदेशी मुद्रा स्वीसमा साटेर प्रयोग गर्दा पर्यटकहरुका लागि झन् महङ्गो पर्ने गरेको हो । यता युरोप बाहिरको सबैभन्दा महङ्गो देश चाहिँ जापान रहेको छ जसले ८३.४ स्कोर प्राप्त गरेको हो ।
तर घर भाडा र रेस्टुरेन्टमा भने युरोपेली मुलुकभन्दा धेरै सस्तो रहेको पनि रिपोर्टले देखाएको छ । यता पूरै सूचीमा ११ औँ स्थानमा परे पनि हङकङ घरभाडाको दरमा भने विश्वकै महङ्गोमा रहेको छ ।
त्यस्तै मध्यपूर्व क्षेत्रलाई पनि घरभाडा दरका हिसाबले महङ्गो नै मानिएको छ । महङ्गो देशमा अष्ट्रेलिया १६ औँ स्थानमा छ । भारत यसमा १३२ देशहरु मध्ये १३० औँ स्थानमा रहेको छ अर्थात् अत्यन्तै सस्तो मानिएको छ ।
यसरी घर भाडादरको कुरा गर्नुपर्दा नेपाल पनि सबैभन्दा सस्तोमा शीर्ष पाँचमा पर्दछ । नेपाल २९।५४ स्कोर सहित १२२ औँ स्थानमा छ । यता रुस ८० र चीन ८२ औँ स्थानमा रहेका छन् ।
१३२ वटा देशहरुमा पाकिस्तान बस्नका लागि सबैभन्दा सस्तो मुलुक हो । यता रेस्टुरेन्टका लागि चाहिँ पाकिस्तान, भारत र अफगानिस्तान सबैभन्दा सस्तो देश भएको बताइएको छ ।