Trending :
 

एआईले बनाएको औषधि पहिलोपटक मान्छेमा प्रयोग

माघ २३,२०७६

-

माघ २३,२०७६ काठमाडौं ।
 
आर्टिफिसियल इन्टेलिजेन्स अर्थात एआइले आविस्कार गरेको औषधि पहिलोपटक मान्छेमा परीक्षण गर्न लागिएको छ । यसलाई औषध क्षेत्रमा विश्वकै पहिलो प्रत्यक्ष एआइ योगदान बताइएको छ । 
 
बेलायती स्टार्ट-अप र जापानी औेषध फामको सहकार्यमा यसको निर्माण भएको बताइएको छ। उक्त औषधि ‘अब्सेसिभ-कम्पल्सिभ डिसअर्डर, ओसिडी’ का बिरामीको उपचारमा प्रयोग हुने बताइएको छ । 
 
सामान्य रुपमा नयाँ औषधि निर्माणपछि ट्रायलको चरणमा पुग्न पाँच वर्ष लाग्ने गर्दछ तर एआइले विकसित गरेको औषधि भने १२ महिनामै परीक्षणका लागि तयार भएको हो । यसमा बेलायती कम्पनी एक्ससाएन्टियाका प्रमुख, प्रोफेसर एन्ड्रयु होप्किन्सले औषध विकासको क्षेत्रमा यो महत्वपूर्ण उपलब्धी भएको बताएका हुन् । 
 
उनले बीबीसीसँग भनेका छन्, “हामीले एआइले बिरामीको परीक्षण गरेको र तिनका डाटाहरु अध्ययन गरेको , स्क्यान गरेको धेरै देखेका छौँ तर नयाँ औेषधि विकास गर्नमा एआइको प्रत्यक्ष प्रयोग गििरएको यो पहिलो घटना हो । ”
 
डीएसपी–११८१ नामक औषध तत्व पत्ता लगाउन एआइको अल्गोरिदम प्रयोग गरिएको थियो जसले सम्भावित तत्वहरुलाई ठूलो स्तरमा डाटाबेस मार्फत परीक्षण गरि विकसित गरेको हो । प्रोफेसर होप्किन्स भन्छन्, “अरबौँ विकल्प मध्ये औषधिका लागि एउटा सही तत्व चुनेर औषधि निर्माण गर्नु धेरै ठूलो निर्णय हो । यसरी अल्गोरिदमको क्षमता कुनैपनि रोगको औषधिका लागि उपयोग गर्न सकिन्छ । ”
 
यो पहिलो औषधि जापानमा ट्रायल गरिसकेपछि सफल भएमा विश्वव्यापी परीक्षण गरिने बताइएको छ । उक्त फर्म अहिले नै क्यान्सर र मुटु सम्बन्धी रोगको उपचारका निम्ति सम्भावित औषधिहरु निर्माण गर्ने काममा जुटिरहेको छ जसका लागि पनि एआइले वर्षको अन्त्यसम्म अर्को तत्वको खोजी गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।
 
प्रोफेसर होप्किन्सले भनेका छन्, “यसरी वर्षको सुरुवातमा एआइले डिजाइन गरेको औषधि पहिलोपटक प्रयोगमा आउन लागेको छ तर दशकको अन्त्यसम्ममा सबै औषधिहरु सम्भावित रुपमा एआइले नै निर्माण गरेका हुन सक्नेछन् । ” एआइसँग औषध क्षेत्रमा तिव्र विकास ल्याउने अधिक क्षमता रहेको पनि उनले बताए । बीबीसी