आषाढ ०५,२०७४
-
असार ५ –
१३ औं साउथ एसियन गेम्सलाई लक्षित गरेर सरकारले पोखरा रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको रंगशालामा परिणत गर्न लागेको छ । यसै वर्षभित्र निर्माण कार्य सुरु हुने रंगशालाको प्रारम्भिक डिजाइन बनिसकेको छ ।
आइतबार सिँहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रमबीच रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक गरिएको छ । कार्यक्रममा एनडी इन्जिनियरिङ कन्सल्टेन्टले तयार पारेको पोखरा रंगशालाको डिजाइन प्रस्तुत गरिएको थियो ।
अहिले बनेका डिजाइनमा केही हेरफेर गरेर सरकारले डिजाइन कम्पनीलाई १५ दिनभित्र रंगशालाको पूर्ण डिजाइन ल्याउन भनेको छ ।
त्यसका लागि डिजाइन कम्पनीलाई राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको इन्जिनियरिङ शाखा, अखिल नेपाल फुटबल संघ (एन्फा) लगायतका सरोकारवालासँग छलफल गरेर तयार पार्न भनेको छ ।
डिजाइनअनुसार पोखरा रामबजारमा रहेको रंगशालालाई भत्काएर त्यस स्थानमा नयाँ सुविधासम्पन्न रंगशाला बनाइनेछ । अनुमानित ८५ करोड लागत लाग्ने रंगशाला ४ सय रोपनी जग्गामा फैलनेछ । जसमा अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदानसहित अन्तर्राष्ट्रिय स्तरको एथलेटिक्स ट्रयाक रहनेछ ।
एनडी इन्जिनियरिङ कन्सल्टेन्टले तयार पारेको रंगशालाको ढाँचाअनुसार करिब ३० हजार बढी दर्शक क्षमता रहेको रंगशाला बन्नेछ । र, रंगशालाको चार दिशामा प्याराफिट रहनेछ ।
एनडी इन्जिनियरिङ कन्सल्टेन्सी काठमाडौंले रंगशालाको माटो परीक्षण, आर्किटेक्चर, डिजाइन र लागत अनुमानको योजना निर्माण गरेको हो ।
सरकारले खेलकुदको पूर्वाधार निर्माणका लागि वार्षिक करिव १ अर्ब ७० करोड रुपैया“ बजेट छुट्याउ“दै आएको छ ।
प्रमुख समाचार
सम्वन्धित समाचार