मेलम्चीको पाइप जडानका क्रममा १६ करोडको क्षति
लापर्बाही गर्नेलाई कारबाही गर्न अर्थमन्त्रीको आग्रह :
-
माघ २७,२०७६ काठमाडौं ।
अर्थमन्त्री डा. युवराज खतिवडाले मेलम्ची खानेपानीको पाइप जडान गर्दा लापरबाही गर्नेमाथि कारबाही हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको विकास तथा प्रविधि समिति बैठकमा खतिवडाले १६ करोडको पाइप जोड्ने क्रममा लापरबाहीले क्षति भएको बताए ।
त्यो कार्यमा जिम्मेवार व्यक्तिहरूलाई कारबाही हुनुपर्ने अर्थ मन्त्रालयको अडान रहेको खतिवडाले बताए। मेलम्ची खानेपानीको पाइप जमिनमा गाड्ने र जडानका क्रममा १६ करोडको पाइप क्षति भएको छ। त्यसमा लापरबाही गर्नेहरूमाथि कारबाही हुनुपर्छ भन्ने मन्त्रालयको स्पष्ट मान्यता छ, उनले भने।
मन्त्रालयले मेलम्ची आयोजनालाई रकम उपलब्ध गराउने तर काममा लापरबाही गर्नेलाई कारबाही हुनुपर्ने खतिवडाले बताए।
खानेपानीमन्त्री बिना मगरले विभिन्न निकायबीच समन्वय नहुँदा समस्या आएको र मेलम्ची खानेपानी आयोजनाले क्षति बेहोर्नुपरेको बताइन। खानेपानीका पाइप पुराना भएकाले थप क्षति भइरहेको र व्यवस्थापन गर्न समस्या आइरहेको उनको भनाइ थियो।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेले पनि पाइप फुटेर मेलम्ची खानेपानी आयोजनालाइ १६ करोड क्षति भएको स्वीकार गरेका थिए।
समिति बैठकमा मेलम्ची खानेपानी आयोजना कार्यान्वयन कार्यालयका प्रमुख भोजविक्रम थापाले पाइप जडान र जमिनमुनि गाड्ने क्रममा १६ करोडको क्षति भएको बताएका थिए।
समितिमा युटिलिटी करिडोरबारे छलफल भएको थियो। खानेपानीका पाइप, विद्युत लाइन, टेलिकम र केबुलका तारलगायतको कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको हो। यो क्षेत्रलाई व्यवस्थित गर्न कानुन ल्याउन तथा सरकारका निकायबीच समन्वय गर्नेबारे छलफल भएको हो।