Trending :
 

विद्युतीय माध्यमबाट भुक्तानी गरे मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता हुने

माघ २८,२०७६

-

माघ २८,२०७६ काठमाडौं ।
अर्थमन्त्री युवराज खतिवडाले विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे मूल्य अभिवृद्धि करको १० प्रतिशत रकम फिर्ता हुने व्यवस्था सुरू गरेका छन् । 
 
खतिवडाले उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु वा सेवा खरिद गर्दा विद्युतीय उपकरणका माध्यमबाट भुक्तानी गरे करको १० प्रतिशत बैंक खातामा फिर्ता गर्ने व्यवस्था शुभारम्भ गरे ।
 
विभागले तयार गरिएको प्रणालीमा यो सेवा उपलब्ध गराउन इच्छुक नेपाल इन्भेष्टमेण्ट बैंकको विद्युतीय भुक्तानी कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्कट एन्ड डिपार्टमेन्टलको त्रिपुरेश्वर शाखा तथा केकेएफसी न्युरोड शाखाबाट कर लाग्ने वस्तु वा सेवा खरिद गर्ने उपभोक्तामार्फत खतिवडाले योजना आरम्भ गरेका हुन् ।
 
यस्तो प्रणालीगत सुधार गरेका बिक्रेताबाट एक पटकमा हजारदेखि लाख रुपैयाँसम्मको वस्तु वा सेवाको खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गर्ने उपभोक्ताहरुले यो सुविधा पाउँछन् । यो व्यवस्थाले वस्तु वा सेवा खरिद बिक्री गर्दा बिल बीजक लिने दिने बानीमा थप सुधार हुने अपेक्षा गरिएको छ ।
 
व्यवस्थाअनुसार विद्युतीय माध्यमबाट खरिद रकम भुक्तानी गरे तिर्नुपर्ने भ्याटको १० प्रतिशत रकम तिर्नेको खातामा फिर्ता हुनेछ । यसको अर्थ १० हजार रुपैयाँको खरिदमा तिर्नुपर्ने १३ सय रुपैयाँ मूल्य अभिवृद्धि करमध्ये १ सय ३० रुपैयाँ भुक्तानीकर्ताको बैंक खातामा फिर्ता हुन्छ ।