Trending :
 

बंगलादेशमा डुंगा डुब्दा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको मृत्यु,७० भन्दा धेरैको उद्धार

माघ २८,२०७६

-

माघ२८, २०७६ काठमाडौं ।
बंगलादेशको तटपारी डुङ्गा दुर्घटना हुँदा कम्तीमा १५ रोहिङ्ग्या शरणार्थीको ज्यान गएको छ ।
 
बंगलादेशबाट भागेर मलेसिया जानेक्रममा १३० जना चढेको डुङ्गा बंगलादेशको तटपारी बंगालको खाडी क्षेत्रमा रहेको सेन्ट मार्टिन टापुनजिक डुबेको बंगलादेशको तटरक्षक फौजले जनाएको छ ।
 
डुङ्गामा चढेकामध्ये ७० जनाभन्दा धेरैलाई उद्धार गरिएको जनाइएको छ । ५० जना क्षमताको डुङ्गा बंगलादेशको तटीय शहर कक्स बजारबाट मलेशिया जानका लागि हिँडेको बताइएको छ । क्षमताभन्दा धेरै यात्रु बोकेका कारण डुङ्गा डुबेको हुनसक्ने बंगलादेशी अधिकारीको आशंका छ ।
 
मारिनेमा महिला र बालबालिका समेत छन् । सन् २०१७ मा म्यान्मारको सेनाले मुसलमान धर्मावलम्बी रोहिङ्ग्या जनजातीलाई लक्षित गरी कारवाही चलाएपछि लाखौं रोहिङ्ग्याहरु हाल बंगलादेशमा शरणार्थीका रुपमा बसोबास गर्दै आएका छन् ।
 
यद्यपि बंगलादेशको शरणार्थी शिविरको अवस्था दयनीय रहेका कारण हरेक वर्ष हजारौं रोहिङ्ग्याहरु खतरनाक बाटो प्रयोग गरी ज्यान जोखिममा राखेर बंगालको खाडीबाट मलेशिया जाने गरेको बताइन्छ ।
 
एजेन्सी