बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु

फाल्गुण ०१,२०७६

-

फागुन १,२०७६ काठमाडौं ।
 
बिहीबारदेखि ९ महिनादेखि ५ वर्षमुनिका झण्डै ३० लाख बालबालिकालाई दिइने दादुरा र रुबेलाविरुद्धको खोप अभियान सुरु हुँदैछ ।
 
दुई चरणमा सञ्चालन हुने अभियानअन्तर्गत पहिलो चरणमा बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ मा ९ महिनादेखि ५ वर्षमुनिका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो ।
 
चितवन र पूर्वी नवलपरासीबाहेक तराईका १९ जिल्लामा बिहीबारदेखि नै दादुरा र रुबेलाको खोपसँगै बालबालिकालाई पोलियो थोपा पनि खुवाइने उहाँले जानकारी दिनुभयो । दादुरा र रुबेलाविरुद्धको खोप शिशु जन्मिएको ९ महिना र १५ महिनामा गरी दुई पटक लगाउनुपर्छ ।
 
दुई चरणकै खोप लगाएका बालबालिकालाई पनि यो खोप अभियानअन्तर्गत थप खोप लगाउनुपर्ने प्रमुख गौतमले जानकारी दिनुभयो । अहिलेको खोप थप मात्रा भएकाले अनिवार्य लगाउनुपर्ने उहाँको भनाइ छ ।
 
बिहीबारदेखि एक महिनासम्म प्रदेश १, २ र ५ का सबै वडामा रहेका खोप केन्द्रमा गएर ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सरकारले आग्रह गरेको छ ।
 
दोस्रो चरणमा आउँदो चैत १ गतेदेखि एक महिनासम्म वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बालबालिकालाई दादुरा र रुबेलाविरुद्धको खोप अभियान सञ्चालन हुनेछ ।
 
सन् २०२३ सम्ममा नेपालबाट दादुरा र रुबेला निवारण गर्नुपर्ने लक्ष्यअनुसार दादुरा र रुवेलाविरुद्धको खोप दिन लागिएको सरकारले जनाएको छ ।