कोरोनाभाइरस रोकथामका लागि खटिएका ६ जना डाक्टरको मृत्यु,१७ सय स्वास्थ्यकर्मी सङ्क्रमित

फाल्गुण ०२,२०७६

-

माघ २,२०७६ काठमाडौं ।
 
चीनले कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरसको नियन्त्रण र रोकथामका निम्ति अग्रमोर्चामा खटिएका १७ सय जनाभन्दा बढी स्वास्थ्यकर्मी उक्त भाइरसबाट सङ्क्रमित भएको खुलासा गरेको छ।
 
छ जनाको मृत्यु नै भइसकेको छ।
 
चिकित्सक तथा नर्सहरूले ज्यान दाउमा राखेर काम गरिरहेको राष्ट्रिय स्वास्थ्य आयोगका उपमहानिर्देशक जङ्ग यीसिनले बताए।
 
उनका अनुसार वुहानमा कार्यरत ११ सय दुईजना र हुबे प्रान्तका अन्य भागमा चार सय स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।
 
सङ्क्रमित स्वास्थ्यकर्मीहरूको सङ्ख्या बढ्दै गएको पनि उनले जानकारी दिए।
 
पछिल्ला हप्ताहरूमा कतिपय स्वास्थ्यकर्मीले आफूहरूलाई सुरक्षित राख्न आवश्यक उपकरणहरूको अभाव झेल्नुपरेको गुनासो गरेका छन्।
 
भाइरसबारे आफ्ना सहकर्मीलाई सचेत गराउने कोसिस गरेका तर पछि चुप लगाइएका डाक्टर लि वेन्लियाङको गत साता मृत्यु भएपछि त्यसले सामाजिक सञ्जालमा सरकारी निकायविरुद्ध चर्को आक्रोश निम्त्याएको थियो।
 
उनले चीनमा नयाँ कोरोनाभाइरसको प्रकोप फैलिन सक्ने चेतावनी दिएका थिए। वुहान सेन्ट्रल हस्पिटलमा कार्यरत उनलाई त्यहीँ सङ्क्रमण भएको थियो।
 
भाइरस सङ्क्रमितहरूको उपचारमा संलग्न डा. लि वेन्लियाङको गत साता मृत्यु भएको थियो ।
चीनले नयाँ भाइरसबाट थप १२० जनाको मृत्यु भएको जनाएको छ।
 
यससँगै सो भाइरसका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब १४ सय पुगेको छ।
 
कोभिड १९ भाइरस सङ्क्रमणको केन्द्रबिन्दु हुबे प्रान्तबाहिर लगातार दशौँ दिन सङ्क्रमितको सङ्ख्या घट्दो क्रममा देखिएको छ।
 
तर राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार सङ्क्रमितहरूको सङ्ख्या ६३ हजार नौ सय २२ पुगेको छ। बीबीसी