अशरफ घानी दोस्रो पटक अफगानिस्तानका राष्ट्रपतिमा निर्वाचित

फाल्गुण ०७,२०७६

-

फागुन ७,२०७६ काठमाडौं ।
झण्डै पाँच महिनाअघि अफगानिस्तानमा भएको विवादित चुनावमा राष्ट्रपति अशरफ घानी विजेता घोषित भएका छन् । 
 
अशरफ घानीलाई फेरि राष्ट्रपति पदमा चुनिएसँगै अफगानिस्तान नयाँ सङ्कटमा फस्न सक्ने बताइएको छ, किनकि चुनावमा निकै धाँधली भएको आरोप लागेको थियो । 
 
आतङ्कवादी सङ्गठन तालिबानसँग शान्ति सम्झौताको प्रयास चलिरहेको समयमा चुनावी नतिजा सार्वजनिक भएको हो । 
 
अफगानिस्तानमा गएको वर्षको २८ सेप्टेम्बरमा मतदान भएको थियो । सन् २००१ मा अमेरिकी बलले तालिबानलाई सत्ताबाट हटाएको थियो । त्यसपछिको यो चौथो पटकको चुनाव थियो । मतदानमा निकै धाँधली भएको आरोप लागेको थियो । मतदानको क्रममा बायोमेट्रिक डिभाइसमा प्राविधिक समस्या पनि आएको थियो । यसका साथै अनेक प्रकारका अनियमितता गरेको आरोप पनि लागेको थियो । 
 
मङ्गलबार अफगानिस्तानको इन्डिपेन्डेन्ट इलेक्शन कमिसन (आईईसी) का अनुसार अशरफ घानीलाई ५० दशमलव ६४ प्रतिशत मत प्राप्त भएको छ । उनका प्रतिद्वन्द्वी अब्दुल्ला अब्दुल्लाले ३९ दशमलव ५२ प्रतिशत मत प्राप्त गरेका छन् । 
 
आईईसीले गएको डिसेम्बर महिनाको सुरुवातमा प्रारम्भिक नतिजा घोषित गर्दा विश्व बैंकका पूर्व अधिकारी अशरफ घानी झिनो मत अन्तरले विजयी भएको देखाएको थियो । यद्यपि अब्दुल्ला अब्दुल्लाले धाँधलीको आरोप लगाउँदै चुनावी नतिजा खारेज गरिदिएका थिए । उनले मतदान समीक्षाको माग गरेका थिए । अर्कोतर्फ अशरफ घानीले चुनावमा धाँधली भएको आरोपलाई खारेज गरेका थिए । 
 
चुनावी नतिजा घोषणा भइसकेपछि अब्दुल्ला अब्दुल्लाका चुनावी अभियानका प्रमुख फजल अहमद मनावीले ट्विटरमा भने, ‘हामी चुनावी प्रक्रियाबाट बाहिर भएका छौँ । हाम्रो नजरमा आईईसीले गरेको घोषणा प्रभावित छ, जसलाई समयले नै न्याय दिलाउनेछ ।’