आषाढ ०६,२०७४
-
असार ६ – बालसाहित्यकार विष्णुकुमारले पाँच वटा बाल कथा पुस्तक एकसाथ प्रकाशनमा ल्याएका छन्। उनका बालकथाहरुमा ‘मेरो रातु’, ‘पुन्टे स्याल’, ‘सानी र घाम’, ‘मलाई मन पर्छ’ र अंग्रेजी भाषामा ‘निरुज टिथ कम्प्लेइन (नीरुको दाँतको दुखेसो)’ रहेका छन् । भुँडिपुराण प्रकाशनद्वारा प्रकाशित उक्त कृतिहरु मध्य ‘सानी र घाम’मा सानी भँगेरीले कल्पना गरेको वैज्ञानिक रहस्यमाथिको चित्रकथा प्रस्तुत गरिएको छ । ‘मेरो रातु’ बेलुनसँग रमाउने एउटी बालिकाको कथा हो। ‘पुन्टे स्याल’मा भोकाएको स्यालले हिरा भेटेपछिको रोमाञ्चक संवाद छ। स्यालले हिरा खान खोज्छ, तर हिराले भन्छ– मलाई खानुभन्दा बजारमा बेचेर आएको थुप्रै पैसाले जीवनभर मोज गर। ‘मलाई मन पर्छ’ कथा भने पाँच वर्षसम्मका बालबालिकाका लागि लक्षित कथा भएको लेखक पौडेलले बताए। ‘नीरुको दाँतको दुखेसो’मा नीरुले दाँत माझ्दा अचानक गिजाबाट रगत आएपछि दाँतसँगको संवाद हो। यसमा के–के खाँदा दाँतमा असर हुन्छ र कसरी दाँत माझ्नुपर्छ भन्नेबारे दाँतले नीरुलाई सिकाउँछ । अहिलेसम्म ३० बालपुस्तक प्रकाशित गरिसकेका विष्णुकुमारले गिजुभाइका चुनिएका बालकथाहरुको संकलन ‘मुनिया रानी’को समेत अनुवाद गरेका छन्। साठीको दशकदेखि बालसाहित्य लेखनमा सक्रिय उनको विशेषता बाल मनोविज्ञानअनुरुप मनोरन्जनात्मकताको खोजी हो।
प्रमुख समाचार