Trending :
 

कोरोनाका कारण चीन बाहिरका देशमा २० जनाको मृत्यु:

कोरोना महामारी विरुद्ध लड्न तयार रहन विश्व स्वास्थ्य सङ्गठनको आग्रह

फाल्गुण १३,२०७६

-

फागुन १३,२०७६ काठमाडौं ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड-१९ अर्थात् नोबेल कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारी विरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको छ ।
 
चीनको वुहान शहरबाट विश्वभर फैलिएको कोरोना भाइरसले महामारीको रुप लिन सक्ने भएकाले सङ्क्रमणविरुद्ध लड्न तयारी अवस्थामा रहन डब्लूएचओले आग्रह गरेको हो । तर डब्लूएचओले अहिले नै कोरोनाको सङ्क्रमणलाई विश्वव्यापी महामारी भन्न नमिल्ने बताएको बीबीसीले जनाएको छ ।
 
विश्वका धेरै क्षेत्रमा सङ्क्रमण सहज रुपमा एक व्यक्तिबाट अर्कोमा सर्न थालेपछिको अवस्थालाई विश्वव्यापी महामारी भन्ने गरिन्छ ।
 
अहिलेसम्म कोरोना भाइरसका कारण चीनसहितका देशमा दुई हजार ६ सय ९८ जनाको ज्यान गइसकेको छ भने ८० हजारभन्दा धेरै मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ ।
 
यस्तै कोरोनाका कारण चीनबाहिर ३० देशमा २० जनाको ज्यान गएको छ । एक हजार दुई सय जनाभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोनाका कारण सबैभन्दा धेरै दक्षिण कोरियामा आठ जनाको ज्यान गएको छ भने आठ सय ३० जनामा कोरोना भएको पुष्टि भएको छ ।
 
यस्तै इटलीमा सात जनाको ज्यान गएको छ भने दुई सय २९ जनामा सङ्क्रमण भएको पाइएको छ ।
 
सोमबार इराक, अफगानिस्तान, कुवेत, ओमान र बहराइनमा पनि कोरोना सङ्क्रमित भेटिएपछि डब्लूएचओले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित महामारीविरुद्ध लड्न तयारी अवस्थामा रहन आग्रह गरेको हो ।
 
रुघाखोकीसँगै उच्च ज्वरो आउनु र श्वास फेर्न गाह्रो हुनु कोरोना भाइरसको लक्षण हो । बारम्बार साबुनपानीले हात धुने, सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा नबस्ने, आँखा, नाक र मुख छोइसकेपछि हात धोइहाल्ने गरेमा कोरोना सङ्क्रमण फैलन कम हुने डब्लूएचओको विश्वास छ ।