Trending :
 

नागरिकता संशोधन कानूनविरुद्धको दिल्ली हिंसामा मृत्यु हुनेको संख्या १३ पुग्यो

फाल्गुण १४,२०७६

-

फागुन १४,२०७६ काठमाडौं ।
दिल्लीको उत्तर पूर्वी इलाकामा पछिल्लो केही दिनदेखि जारी हिंसामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । प्रेस ट्रस्ट इन्डियाले अस्पताल स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो ।
 
भारतका केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन मंगलबार बेलुकी गुरु तेग बहादुर अस्पताल पुगे ।
 
अस्पतालमा पीडितलाई भेटेपछि हर्षवर्धनले भने, ‘अहिलेसम्म हिंसामा मारिनेको संख्या १३ पुगिसकेको छ । सोमबार ८१ जनालाई घाइते अवस्थामा यहाँ ल्याइएको थियो ।
 
मंगलबार ६९ घाइतेलाई अस्पताल ल्याइएको छ । यीमध्ये ३०-४० जना उपचार गरेर घर फर्किसकेका छन् । यहाँ मैले विभिन्न वार्डमा बिरामीको अवस्था देखेको छु । यीमध्ये कति बिरामीको स्थितीलाई गम्भीर मान्न सकिन्छ ।’
 
यस्तै, उत्तर पूर्वी दिल्लीको जाफराबादमा नागरिकता संशोधन कानूनविरुद्ध प्रदर्शन गरिरहेका प्रदर्शनकारीलाई हटाइएको छ ।
 
मेट्रो स्टेशन नजिकै प्रदर्शन गरिरहेका मध्ये धेरैजसो महिला थिए ।
 
समाचार एजेन्सी एएनआईका अनुसार दिल्ली पुलिसले यसको जानकारी दिएको हो ।
 
जाफराबादमा महिलाले केही दिनदेखि सीएएविरुद्ध विरोध प्रदर्शन गरिरहेका थिए । तर शनिबार राती प्रदर्शनकारीमध्ये केहीले जाफराबाद रोड अवरुद्ध गरिदिए ।
 
आइतबार धर्ना स्थलबाट केही पर सीएएको समर्थनमा भारी मात्रामा भीड जम्मा हुन थाल्यो जसका कारण स्थिती तनावग्रस्त भयो  । सोमबार त हिंसा नै सुरु भयो ।
 
दिल्ली पुलिसको पत्रकार सम्मेलनः
 
दिल्ली पुलिसका डीसीपी मनदीप सिंह रंधावाले पत्रकार सम्मेलन गर्दै हिंसा र त्यससँग जोडिएको कारवाहीबारे जानकारी दिए । रंधमवाका अनुसार सोमबारदेखि सुरु भएको हिंसामा अहिलेसम्म १० जनाको ज्यान गइसकेको छ । यीमध्ये ९ जना सर्वसाधारण छ एकजना हेड कन्स्टेबल रतन लाल हुन् ।
 
डीसीपी रंधावाले भने, ‘दिल्ली पुलिसका ५६ जवान घाइते भएका छन् । उत्तरी–पूर्वी दिल्लीमा पर्याप्त मात्रामा जवान तैनाथ गरिएका छन् । हामीसाग अर्धसैनिक बलमा सीआरपीएफ र एसएसबी छन् । यीबाहेक ग्राउन्डमा पेट्रोलिङका अन्य थुप्रै तरिकाले निगरानी गरिँदैछ । पुलिसले धारा १४४ लगाएको छ । १४४ लागु हुँदा हुँदै पनि आज केही इलाकामा हिंसा भएको छ । एजेन्सी