Trending :
 

दिल्लीमा डरलाग्दो रुपमा दंगा फैलियो, २० को मृत्यु, सयौं घाइते

फाल्गुण १४,२०७६

-

काठमाडौं । भारतको राजधानी दिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका क्रममा बुधबार मध्यान्हसम्म भारतीय प्रहरीका एक हेड कन्स्टेबल सहित २० जनाको मृत्यु भएको छ ।
 
विवादास्पद नागरिकता विधेयकको समर्थन र विरोधमा सडकमा उत्रिएका प्रदर्शनकारीबीच दिल्लीका ठाउँठाउँमा झडप हुँदा २ सय जना भन्दा धेरै घाइते भएका छन् ।घाइते हुनेमा प्रदर्शनकारी र प्रहरी दुबै छन् । सरकारले हिंसा नियन्त्रणका लागि दिल्लीका सडकमा थप ८ हजार प्रहरी तथा अर्धसैनिक बलका जवानलाई खटाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
 
दिल्लीको सर्वा्धिक हिंसाग्रस्त उत्तरपूर्वी क्षेत्रमा स्थानीय अधिकारीहरुले सबै विद्यालयहरु बन्द गरेका छन् भने ठाउँठाउँमा कफ्र्यु आदेश जारी गरिएको छ । मंगलबार अबेर भारतीय सुरक्षा सल्लाहकार अजित डोभालले हिंसा भड्किएका क्षेत्रको स्थलगत भ्रमण गरी स्थानीय नेताहरु र प्रहरी अधिकारीहरुसँग छलफल गरेका थिए । दिल्ली उच्च अदालतको मंगललबार साँझ बसेको इजलासले सुरक्षा व्यवस्था सुदृढ बनाउन र घाइतेहरुको उपचारका लागि उचित प्रबन्ध गर्न आदेश दिएको छ ।
 
हातमा लाठी, बन्दुक, पेस्तोल बोकेका सशस्त्र प्रदर्शनकारीले उत्तरपूर्वी दिल्लीमा लुटपाट, आगजनी र तोडफोड गरेका थिए । उनीहरुले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको निवास बाहिर समेत प्रदर्शन भएको छ । प्रहरीले बुधबार नयाँदिल्लीका मुख्यमन्त्री केजरीवालको निवास बाहिर भेला भएको भीडलाई तितरबितर बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । केजरीवाल निवासअघि प्रदर्शन गर्नेमा जवाहरलाल नेहरु विश्वविद्यालयका विद्यार्थीहरु, जामिया मिलिया इस्लामियाका सदस्य छन् ।
 
उनीहरुले मुख्यमन्त्री केजरीवाललाई भेट गरी दिल्ली हिंसासँग सम्बन्धित विषयमा मागपत्र प्रस्तुत गर्न चाहेका थिए । गत आइतबार उत्तरपूर्वी दिल्लीमा संशोधित नागरिक कानुनको पक्ष र विपक्षमा रहेका खासगरी हिन्दु र मुस्लिम समुदायका मानिसहरुबीच हिंसात्मक झडप शुरु भएको थियो । यो हिंसाले सोमबार र मंगलबार डरलाग्दो रुप लिएको थियो ।
घटनास्थल पुगेका एम्बुलेन्सलाई समेत अवरोध पुर्‍याइएपछि घाइतेलाई मोटरसाइकल र भ्यानमा राखेर अस्पताल पुर्‍याइएको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ । घाइतेहरुको उद्धारमा अवरोध पुर्‍याइएपछि मंगलबार राति दिल्ली उच्च अदालतले दिल्ली प्रहरीलाई घाइतेहरुको तत्काल उद्धार गर्न आदेश दिएको थियो।
 
परिस्थिति असामान्य बन्दै गएपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मंगलबार अपराह्न केन्द्र सरकारका गृहमन्त्री अमित शाह र दिल्लीका उपराज्यपाल जी बैजाललाई भेटेका थिए । त्यो भेटपछि केन्द्र सरकारले हिंसाग्रस्त क्षेत्रमा थप प्रहरी परिचालन गर्ने निर्णय गरेको थियो । लगत्तै जफरावाद, खजुरी खास, भजनपुरा, मौजपुरलगायत हिंसा प्रभावित क्षेत्रमा मंगलबार साँझ अर्धसैनिक बलका टुकडीहरूले मार्च गरेका थिए । त्यसपछि भने परिस्थिति सामान्य बन्दै गएको बताइएको छ । उत्तरपूर्वीका दिल्लीका सबैजसो भागमा संविधानको धारा १४४ लगाइएको छ, जसअनुसार चार जनाभन्दा बढी मानिस एकै ठाउँमा भेला हुन पाइँदैन ।