इस्टर्न रिजन टी-२० क्रिकेट खेल्न नेपाली टोली थाइल्याण्ड प्रस्थान
-
फागुन १४,२०७६ काठमाडौं ।
नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगिता खेल्न थाइल्याण्ड जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाई गरेको छ ।
बुधबार राजधानीमा पत्रकार सम्मेलनको गरी क्यानले थाइल्याण्ड जाने नेपाली टोलीको विदाई गरेको हो । कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा नेपालले यसअघि नै १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
कप्तान मल्लले इस्टन रिजनमा च्याम्पियन बन्ने लक्ष्यसहित थाइल्याण्ड जाने बताए । उनले नेपालमा रहँदा राम्रो अभ्यास गरेको र त्यसको नतिजा थाइल्याण्डमा देखाउने बताएका छन् ।
प्रतियोगितामा नेपालसहित सिंगापुर, थाइल्याण्ड, मलेसिया र हङकङ रहेका छन् । प्रतियोगितामा नेपाल अन्य टोलीभन्दा तुलनात्मक रुपमा बलियो छ । यो प्रतियोगिता नेपाली टोलीका लागि एसिया कपको रोडम्यापका रुपमा रहेको छ।
एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता पाएको नेपालले विपक्षीसँग सम्यमित भएर खेल्ने कप्तान मल्लले बताए ।
टोलीको बिदाईमा उपस्थित भएका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवालले नेपाली टीमलाई प्रतियोगिताका लागि शुभकामना सहिद विदाई गरे ।
उनले टोलीबाट सकारात्मक नतिजाको अपेक्षा रहेको समेत बताए । प्रतियोगिता यही फागुन १७ गतेदेखि २३ गतेसम्म हुनेछ ।