पूर्वी दिल्लीमा जारी हिंसा नियन्त्रण गर्न नसकेको भन्दै गृहमन्त्री अमित शाहको राजीनामा माग
-
फागुन १४,२०७६ काठमाडौं ।
उत्तर पूर्वी दिल्लीमा तीन दिनदेखि जारी हिंसा नियन्त्रण गर्न नसकेको भन्दै विपक्षी कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले गृहमन्त्री अमित शाहको राजीनामा मागेकी छन् ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सोनिया गान्धीले बुधबार गृहमन्त्री शाहको राजीनामा मागेकी हुन् । उनले भनिन्, “सम्पूर्ण परिस्थितिलाई हेर्दा दिल्लीको पछिल्लो अवस्थाका लागि केन्द्र सरकार, विशेषगरी गृहमन्त्री जिम्मेवार रहेको कांग्रेस कार्यसमितिको ठहर छ । गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्छ ।”
सोनिया गान्धीले आपसी सद्भाव कायम राख्न दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र दिल्ली सरकार पनि पूर्णतः विफल र जिम्मेवार रहेको बताइन् । केन्द्र सरकार र दिल्ली सरकार जिम्मेवारी निर्वाह गर्न विफल भएका कारण दिल्ली त्रासदीको शिकार बनेको उनको भनाइ थियो ।
यसैबीच सत्तारूढ भारतीय जनता पार्टी ९भाजपा० ले पनि पत्रकार सम्मेलन गरी कांग्रेस दिल्ली हिंसामा राजनीति गरिरहेको आरोप लगाएको छ । कांग्रेसको हात १९८४ मा सिख समुदायका नागरिकको रगतले रंगिएको भाजपाले टिप्पणी गरेको छ ।
पत्रकार सम्मेलनमा पर्यावरण मन्त्री प्रकाश जावडेकरले सोनिया गान्धीप्रति लक्षित गर्दै भने, “कांग्रेस कुन अनुहारले प्रश्न गरिरहेको छ ।” दिल्ली जारी हिंसामा अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको बीबीसीले जनाएको छ ।