Trending :
 

अज्ञात रोगले भेडा मरेपछि जुम्लाका किसानको डेढ लाख बराबरको क्षति, पशु शाखामा कर्मचारी छैनन्

फाल्गुण १५,२०७६

-

फागुन १५, २०७६ काठमाडौं ।
 
जुम्लाको हिमा गाउँपालिका–६ स्थित महाबैपाथरखोलका कृषक छत्रबहादुर अधिकारीको भेडीखर्कमा रहेका २० भेडा मरेका छन् । अज्ञात रोगले  मङ्गलबार ती भेडा मर्दा झण्डै डेढ लाख बराबरको क्षति भएको उनले जानकारी दिए । 
 
“भुँडी ढाडिइ पहेँलो पातलो दिसा गरेर भेडा मरे। ” कृषक अधिकारीले भने । अहिले त्यस्तो रोग भेडीखर्कमा फैलिएको छ । नियन्त्रणमा कुनै पहल भएको छैन । 
 
“जीविकोपार्जन गर्न सानाठूला गरी ६५ भेडा पालेको थिए । २० मरिसके । अझ कति मर्ने हुन् । रोग फैलिएको छ ।” उहाँले भन्नुभयो ।  बीमा नहुँदा क्षतिपूर्तिको संम्भावना छैन । शिखर इन्सुरेन्समार्फत पशु बीमा गर्ने भएपनि सो  गाउँपालिकामा कर्मचारी नहुँदा बीमा नभएको जनाइएको छ । 
 
सो गाउँपालिका पशु शाखाका संयोजक नरसिंह थापाले आफूले भेडा मरेको जानकारी पाएको जानकारी दिए । उनले भने, “ औषधि दिएर पठाएका छौँ ।”  
 
शाखामा सात जनाको कर्मचारी दरबन्दी रहेको छ । अहिले एकजना मात्र कार्यरत रहेका छन् । उनले भने, “ एकजना कर्मचारीले कार्यालय खोल्ने कि फिल्ड जाने निकै समस्या छ । ” 
 
गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले कर्मचारी समायोजनका कारण दरबन्दीमा उथलपुथल भएको  जानकारी दिए । “पर्याप्त कर्मचारी छैनन्”, उनले भने, “भएका कर्मचारीले जेनतेन व्यवस्थापन गर्दै आएका छौँ ।”रासस