Trending :
 

अम्बर गुरुङको जन्मजयन्तीमा ‘नौ लाख तारा...’

फाल्गुण १५,२०७६

-

फागुन १५,२०७६ काठमाडौं ।
नौ लाख तारा उदाए धर्तीको आकाश हाँसेछ
शरद लाग्यो वनमा फूलले प्रिती गाँसेछ....
अगम सिं गिरीको यो शब्दमा यस्तै कालजयि संगीत र सुमधुर आवाज दिने स्व. अम्बर गुरुङ नेपाली आधुनिक गीतसंगीतको आदर्श मानिन्छ । उनैले बसालेको जगमा टेकेर आज नेपालमा सुगम संगीतले फड्को मारेको हो भन्नुमा दुईमत नहोला । 
 
नेपाली सांगीतिक क्षेत्रमा उनको योगदानबारे विशेष चर्चा नै भयो । ८३ औं अम्बर जन्मजयन्तीमा उनको तस्वीरमा पुष्पार्पण कार्यक्रम गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले गुरुङको सम्झना गरेको हो ।
 
‘हामी फरक विचारका थियौं,बाटो फरक थियो ।’ राल्फा(तत्कालिन पञ्चायती व्यवस्थाको विरोध)अभियान लिएर गाउँबस्ती पुग्दै गर्दा आफूले गुरुङलाई दार्जलिङमा पहिलो पटक भेटेको स्मरण गर्दै प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) भन्छन्–‘पहिलो भेटमै म प्रभावित भएँ,निकै सरल सहज स्वभावको हुनुहुन्थ्यो ।’ 
 
मुलुकमा गणतन्त्र आएपछि भुमिगत जीवन छाडेका रायन र गुरुङबिच सहकार्यभाव झाँगीएछ । नेपालमा फर्के लगत्तै तत्कालिन नेपाल प्रज्ञा प्रतिष्ठानमा संगीत निर्देशक भएका गुरुङ त्यहाँबाट छुट्टिएपछि भने आफूहरुले मिलेर एउटा संगीत विद्यालय चलाएको उनले खुलाए । 
 
यसबिचमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको संस्थापक कुलपति समेत भएका गुरुङ इंगल्याण्ड छिरेपछि भने सहकार्य टाढियो । यद्यपी गुरुङको संयौ सुमधुर संगीत सृजनाले आजसम्म सारा नेपालीहरुको भावनात्मक एकता कायम राख्न महत्वपूर्ण भुमिका खेलेको रायनको धारणा छ ।
 
‘विश्व संगीतलाई हेर्ने दृष्टिकोण र नेपाली संगीतको विकासको बाटोबारे कलाकारुबिच वहस चलाउने उहाँको ठूलो इच्छा थियो तर पुरा भएन,आज मलाई थक थक लागिरहेको छ ।’–उनले आफूहरुबिच भएको छलफलमा गुरुङको यो चहाना भने अधुरो भएकोमा दुःख व्यक्त गरे । उनका अनुसार संगीत पुस्तान्तरणमा गुरुङ निकै चिन्तन गर्थे ।  
 
प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले नेपालमा अकेष्ट्र बनाउने गुरुङको सपनाले आफूलाई झकझक्याईरहेको बताए । संगीतकार गुरुङ वेष्ट्रन् म्युजिकमा मात्रै नभई शास्त्रीय र लोक संगीतमा पनि उत्तिकै दख्खल राख्ने व्यक्तित्व भएको उनको दावी छ ।
 
तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानमा तीन दशक अघि संगत गरेका शर्माले आफ्नो नाट्य कर्मको क्रममा भएको सहकार्यको स्मरण गर्दै उनले भने–‘उहाँ निकै गम्भीर व्यक्ती,मैले गर्ने नाटकको भाव बुझेर संगीत धुन दिने गर्नुहुन्थ्यो,नाटकमा संगीत प्रयोग नेपालमै पहिलो पटक उहाँबाट नै भएको हो ।’         
 
नारायण गोपाल संगीत कोषका निर्देशक राजकुमार श्रेष्ठले संगीतकार गुरुङको संगतनै आफ्नो संगीत जीवनको महत्वपूर्ण पाटो रहेको बताए । गुरुङका संगीत विद्यार्थी श्रेष्ठले उनका आधुनिक संगीत दिक्षाका कारण आफ्नो पहिचान बनेको उल्लेख गरे ।  
 
संगीतकार गुरुङका आफन्त प्रकाश गुरुङले नेपालको राष्ट्रिय गानको संगीत सृजनाबाट उनको कृति विश्वमाझ स्थापित हुन पुगेको बताए । राष्टिय गीतहरुबारे अध्ययन गर्ने व्रिटिशका एक लेखक गुरुङलाई भेटेर निकै प्रभावित भएको उनले जनाए ।   
 
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले अम्बर गुरुङ प्रतिष्ठानमा अल्झिएको दावी गरे । ‘राजा महेन्द्रले नेपाल बोलाएको बेला आउनुभएन,पछि ढिलागरी नेपाल फर्किनुभयो,थप सृजनामा लाग्नुपर्ने बेला तत्कालिन राजकिय प्रज्ञा प्रतिष्ठानमा आवद्ध भएर अल्झिनुभयो ।’
 
उनको तर्क छ–‘निकै प्रतिभाशाली उहाँको सिर्जनाको उचाई झन माथिनै पुग्थ्योकी,त्यसैले भनिन्छ मान्छेले समयलाई चिन्नुपर्छ ।’  
संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव श्यामप्रकाश तमोटले स्व. अम्बर गुरुङको संगीत कर्मबारे आजको पुस्ताले जान्न आवश्यक रहेको बताए । 
 
कार्यक्रममा अन्तरा व्याण्डले गुरुङका सयौं चर्चित गीतहरुमध्ये नौलाख तारा,फुलेको फूल जस्तो सुन्दर यो जीन्दगानी,रातो र चन्द्र सुर्य लगायत प्रस्तुत गरे ।  
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान परिसरमा भएको कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत्प्रसाद उपाध्याय,राष्ट्रिय सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी,संगीतकार प्रकाश गुरुङ,किशोर गुरुङ,शिलाबहादुर मोक्तान लगायतले स्व.अम्बर गुरुङको तस्वीरमा पुष्पार्पण गरे ।     
गोरखाका उजुरीसिं गुरुङ भारतीय सेनामा भर्ती भएपछि उनै उजुरी सिं र आमा रेणुकादेवीको कोखबाट १९९४ फागुन १४ मा दार्जजिङमा जन्मिएका अम्बर नेपाल फर्केपछि नेपाली संगीत सृजनामा झनै क्रियाशिल थिए । गुरुङको मधुमेह,पार्किन्सन्स लगायतका रोगबाट २०७३ जेठ १५ गते निधन भएको थियो ।