Trending :
 

१९औं सार्क शिखर सम्मेलन पाकिस्तानमा

आषाढ ०७,२०७४

-

असार ७ –

पाकिस्तानले रोकिएको १९औं सार्क शिखर सम्मेलन आफ्नै मुलुकमा हुने बताएको छ ।

भारतका लागि पाकिस्तानी राजदूत अब्दुल वसितले मिति जहिले भए पनि पाकिस्तानले नै १९औं सार्क सम्मेलन आयोजना गर्ने बताएका हुन् ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले रोकिएको सार्क सम्मेलन पाकिस्तानमा नै हुने भनी अभिव्यक्ति दिएको दुई दिनपछि पाकिस्तानले यस्तो धारणा व्यक्त गरेको हो ।

भारतले भने पाकिस्तानले सीमापार आतंकवादलाई बढावा दिएका कारण आतंकवादी गतिविधिको बीचमा सार्क सम्मेलन हुन नसक्ने बताउँदै आएको छ । उसले सार्क सम्मेलन सम्पन्न गर्नका लागि क्षेत्रीय वातावरण अनुकूल बनाउन आवश्यक रहेको बताउँदै आएको छ ।

पाकिस्तानमा हुने सार्क सम्मेलनमा भाग नलिने अडानमा पुनर्विचार गर्न पाकिस्तानले भारतलाई आग्रह गर्दै आएको छ । गत नोभेम्बर ९ र १० मा तय भएको सार्कको १९ ‌औं सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो । भारतले सो सार्क सम्मेलनमा आफू पनि सहभागी नहुने र अन्य मुलुकलाई समेत बहिष्कार गर्नको लागि आग्रह गरेको थियो । भारतले सार्कको लागि आवश्यक वातावरण बनिनसकेको बताउने गरेको छ ।