सम्पादकीय

सत्तारुढ दलमा देखिएको द्वन्द्व

फाल्गुण १७,२०७६

-

यतिबेला सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आन्तरिक द्धन्द्धमा फँसेको छ । जनताले सुविधाजनक बहुमत दिएपनि नेकपालाई सरकार संचालनमा सकस देखिएको छ । सत्तारुढ दल आँफैमा विवादमा फँस्नु भनेको देश र जनताका लागि ठुलो नोक्सान हो । जनताले यो अपेक्षा गरेका थिएनन् । राजनीति स्थायीत्व कायम भएर देश विकास निर्माणमा अघि बढ्नेछ भन्ने जनताले विश्वास गरेका थिए । 
 
 नेकपा किन पछिल्लो पटक विवादको चपेटामा पर्यो त ? यसका मुख्यतः दुईटा कारण रहेका छन् । पहिलो, जनताप्रति उत्तरदायीत्व नहुनु र दोस्रो वहुमतको मात चढ्दै जानु । अब कुरा गरौं, किन नेकपा जनताप्रति उत्तरदायीत्व वन्न सकेन ? यो प्रश्न चौतर्फी उठेको छ ।
 
नेकपाले चुनावमा जनतासंग गरेका वाचालाई पुरा गर्ने कर्तब्य सोचेको छैन । जनता अहिले सबैभन्दा महंगीको मार खेपिरहेका छन् । विचौलियाले बजारका किनमेलदेखि सरकारी सुविधासम्म कब्जा गरेका छन् । कालाबजारीले सामानको मुल्य अनियन्त्रित बन्दै गएको छ । सरकारका अनुगमन नियमन निकाय कालाबजारीकै चँगुलमा परेका छन् ।
 
जनताका उजुरी सरकारका कुनै निकायले सुन्दैन । सत्तारुढ दलका कार्यकर्ता कालावजारी र विचौलियामा फैलिएका छन् । कोहि कसैले विरोध गरे भने अरिंगालका झैं यी कार्यकर्ताहरु जाइलाग्छन् । अहिले नागरिकहरु तैं चुप मैं चुपको अवस्थामा निरिह वनिरहेका छन् । 
 
दोस्रो नेकपालाई प्राप्त भएको सुविधाजनक बहुमतले उनिहरुलाई उन्मत्त बनाइदिएको छ । जस्ले गर्दा पार्टी भित्र प्रणालीगत अभ्यास भत्किएको छ । पार्टी सचिवालयले गरेको निर्णय स्वंय पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहेका छन् । सचिवालयले नेता बामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको एकछिनमै ओलीले मान्दिन भनेर पार्टीको विधीविधानलाई मिचेका छन् । पार्टी अध्यक्षवाटै अनुशासन उल्लघंन हुन्छ भने अरु कार्यकर्ता कसरी नियममा बस्न सक्छन् ? यो प्रश्न अहिले ब्यापक रुपमा उठेको छ ।
 
 सचिवालयको निर्णयलाई अटेर गरेका ओलीको अभिब्यक्तिपछि पार्टी भित्र विभाजनको रेखासम्म कोरिने स्थिति देखा पर्यो । यसलाई साम्य पार्न बरिष्ठ नेता माधब कुमार नेपालले भुमिका खेलिरहेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल र ओली विच नजिक वनाउन नेपालले खेलेको भुमिकालाई कार्यकर्ता तहमा सकारात्मक चर्चा चलेको छ ।
 
तर, पनि सत्ता संचालनमा देखिएको असफलता अहिले सत्तारुढ नेकपाका लागि पार्टी कलहमा सल्केको छ । यो गतिविधीले एकातिर, देशलाई नोक्सान पुर्याइरहेको छ भने, अर्कोतिर स्वंय नेकपाप्रति जनताको विश्वास गुम्ने खतरा बढेको छ । 
 
सत्तारुढ नेकपा भित्र सल्केको विवादको आगो निभाउने मुख्य दायीत्व अध्यक्ष ओलीको हो । किनकी उनि सर्बाधिकार प्राप्त अध्यक्ष हुन् । अहिले उनकै कोर्टमा समाधानको बल छ । ओली, दाहाल र नेपालको समन्वय र समझदारीवाटै सत्तारुढ नेकपाको समस्या समाधान हुने वाहेक अर्को उपाय छैन ।