एसीसी टी- ट्वान्टी क्रिकेटः हङकङसँग नेपाल ४३ रनले पराजित
-
फागुन १८,२०७६ काठमाडौं ।
थाइल्यान्डमा जारी एसिसी इस्टर्न रिजन ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नेपालको खराब प्रदर्शन कायमै रहेको छ । राउन्ड रोबिनको आफ्नो दोस्रो खेलमा नेपाल आइतबार हङकङसँग ४३ रनले पराजित भएको छ।
यसअघि पहिलो खेलमा शनिबार मलेसियासँग २२ रनले स्तब्ध भएको थियो । लगातार दोस्रो हारसँगै नेपालको एसिया कपको छनोट खेल्ने सम्भावना निकै कमजोर बनेको छ ।
टस जितेर नेपालले पहिला फिल्डिङ्ग रोजेपछि ब्याटिङ्ग गरेको हङकङले ६ विकेटको क्षतिमा १५४ रन बनाएको थियो । हङकङका लागि निजाकत खानले ४८ रनको योगदान दिए ।
नेपालका सुशन भारी र सन्दीप लामिछानेले दुई–दुई विकेट लिए । त्यस्तै कुशल मल्लले एक विकेट लिए ।
नेपालले ओभर बलमा सबै विकेट गुमाएर रन जोड्यो । हङकङका हारुन मोहम्मद अर्सादले चार, अफताब हुसेनले तीन र एहसान खानले दुई विकेट लिए। अर्सादले १७ औँ ओभरमा तीन विकेट हात पारेका थिए ।
नेपालका ज्ञानेन्द्र मल्लले ४६, कुसल मल्लले १९ र आरिफ शेखले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्। पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै बलियो सुरुवात गरेपनि नेपालले नियमितरुपमा विकेट गुमाएको थियो ।
पारस खड्का ४, दीपेन्द्रसिंह एेरी ५, पवन सर्राफ १ र विनोद भण्डारी पाँच रन जोडेर आउट भए । पाँच टोली सहभागी भएको यो प्रतियोगिताको शीर्ष दुई टोली एसिया कपको छनोट प्रतियोगितामा पुग्नेछन् ।
नेपालले तेस्रो खेल बुधबार थाइल्यान्डविरुद्ध खेल्ने छ ।