राष्ट्रिय योजना आयोगको १५ औं योजना पारित
१८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय:
-
फागुन १९,२०७६ काठमाडौं ।
राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजना पारित गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले १५ औं योजनालाई पूर्णता दिएको हो ।
१५ औं योजनाको आधारपत्र भने गत वैशाख १७ गते पारित भएको थियो । आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै आधारपत्रको आधारमा तयार पारिएका योजनाहरुलाई पूर्णता दिइएको बताए ।
उनले बैठकमा देशको गरिबी, बेरोजगारी, समृद्धि र सुखका सूचकहरुका विषयमा छलफल भएको जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाले दिएको सुझावलाई समेटेर पूर्ण दस्तावेज तयार परिने समेत उपाध्यक्ष कँडेलले बताए ।
त्यस्तै बैठकमा २२ वटा राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक परेमा परिमार्जन तथा थपघट गर्न सकिने विषयमा पनि छलफल भएको उनले बताए । यसबाहेक बैठकले आयोगले पहिचान गरेका १८ वटा रुपान्तरणकारी योजनालाई अगाडि बढाउने निर्णय समेत गरेको छ ।
बैठकमा योजना आयोगले तयार पारेको १ सय १७ वटा प्रमुख कार्यक्रमहरुका विषयमा समेत छलफल भएको थियो । त्यस्तै सार्वजनिक निजी साझेदारी अन्तर्गत गर्नुपर्ने केही कार्यक्रमका विषयमा छलफल भई कार्यान्वयनमा लैजाने निर्णय भएको उपाध्यक्ष कँडेलले बताए ।
१५ औं योजनामा ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय लक्ष्यलाई पूरा गर्ने गरी २५ वर्षे दीर्घकालीन सोच सहितका कार्यक्रमहरु समावेश गरिएको छ । त्यस्तै संविधानको पूर्ण कार्यान्वयन गर्न, संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गर्दै मुलुकलाई समृद्ध र समुन्नत बनाउने संकल्प पनि १५ औं योजनाले गरेको छ ।