भारतद्धारा २६ प्रकारका औषधि निर्यातमा रोक, नेपाललाई समस्या
-
फागुन २१,२०७६ काठमाडौं ।
भारतले विभिन्न २६ प्रकारको औषधी निर्यात रोकेको छ । कारोनाको सम्भावित असरलाई ध्यानमा राख्दै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले ती औषधी निर्यात रोकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
महानिर्देशनालयले एचएस कोड च्याप्टर २९ तथा ३० मा रहेका २६ प्रकारका औषधी निर्यात ‘फ्रि’बाट ‘रेस्ट्रिक्टेड’ बनाएको हो । ती औषधीहरू पारासिटामोटल, टाइनिडाजोल, भिटामिन, प्रोजेस्टेरोन आदि हुन् ।
महानिर्देशनालयले मंगलबार जारी गरेको सूचनामा अर्गानिक केमिकल तथा फर्मास्युटिकलको निर्यात रोकेको बताइएको छ ।
पारासिटामोल, टाइनिडाजोल, मेट्रोनाइडाजोल, एकिक्लोभिर, भिटामिन बी१, भिटामिन बी६, भिटामिन बी१२, प्रोजेस्टेरोन, क्लोरामफेनिकोल, एरिथ्रोमाइसिन साल्ट, नियोमाइसिन, क्लिन्डामाइसिन साल्ट, ओर्निडाजोल र यी औषधीबाट फर्मुलेट भएका अरु १३ प्रकारका औषधी रहेका छन् ।
भारतले अर्को सूचना जारी नभएसम्मका लागि औषधीहरुको कच्चा पदार्थको निर्यात पनि रोकेको जनाएको छ ।