Trending :
 

अन्तराष्ट्रिय प्रसङ्ग

भतिजा हटाएर छोरालाई युवराजधिराज घोषणा

आषाढ ०८,२०७४

-एजेन्सी

८,असार रियाद- साउदी अरबका राजा सलमानले भतिजालाई बर्खास्त गरेर छोरालाई साउदी अरेबियाको युवराज घोषित गरेका छन् । अब साउदी राजा शाह सलमान विन अब्लुलअजिज अल साउदपछि उनका छोरा मोहम्मद बिन सलमान राजा हुने छन् । यसअघि आफू राजा भएपछि उनले भतिजा मोहम्मद बिन नायफलाई उत्तराधिकारी बनाएका थिए । अब ३१ वर्षीय मोहम्मद बिन सलमान साउदी अरबको उपप्रधानमन्त्री समेत बन्नेछन् । उनी अहिले विदेशमन्त्री समेत रहेका छन् । साउदी अरबका सरकारी मिडियाले ५७ वर्षीय मोहम्मद बिन नायफालाई गृहमन्त्रीको पदबाट समेत हटाइएको जनाएका छन् । न्युज एजेन्सी एसपीएका अनुसार नायफले नयाँ युवराज मोहम्मद बिन सलमान प्रति राजनिष्ठा जनाएको उल्लेख गरेको छ । ८१ वर्षीय किङ सलमान सन् २०१५ मा आफ्ना सौतेनी दाजु अब्दुल्लाह बिन अब्दुल अजिजको मृत्युपछि साउदी राजगद्दीमा बसेका हुन् । ३१ वर्षीय नयाँ युवराज मोहम्मद बिन सलमानको उदय चामत्कारिक रुपमा भएको छ । उनी यमनमा साउदी अरबको नेतृत्वको कारबाहीका पक्षमा बलियो रुपमा प्रस्तुत भएपछि देशमा उनको लोकप्रियता ह्वात्तै बढेको हो । उनले सरकारी सेवामा बसेर प्रभावकारी काम गर्नुको साटो समयमात्रै कटाइरहेका कर्मचारीलाई हटाएर युवा, पश्चिमी शिक्षाप्राप्त प्राविधिक कर्मचारीलाई नियुक्त गरेका थिए । उनले विकासको एक महत्वकांक्षी योजना भिजन २०३० पेश गरे र विशाल सम्पत्ति भएका तेल कम्पनी साउदी अराम्बोको शेयर बेच्ने योजनाको घोषणा गरेका थिए । यसैगरी उनको वासिंगटन र ट्रम्प प्रशासनसँग पनि सुमधुर सम्बन्ध रहेको छ । तर उनको सबैभन्दा ठूलो र सबैभन्दा जोखिमयुक्त कदम कट्टरपन्थी धार्मिक सत्ता केन्द्रमाथिको नियन्त्रण स्पापित गर्ने उनको कोशिस हुनेछ । साउदी राजाले नयाँ युवराज घोषित गर्दा संविधानको धारा भीमा समेत संशोधन गरिएको छ, जसमा भनिएको छ, अबदेखि केबल छोरा र संस्थापक राजा फैसल अल साउदका नाति राजा र युवराज बन्न सक्नेछन् । राजा सलमानले आफ्नो छोरालाई युवराज बनाउने तथा आफ्नो शक्तिलाई बलियो बनाउने निर्णयमा सत्तारुढ परिषदका ३४ सदस्यमध्ये ३१ जनाले समर्थन दिएका थिए । परिषद सत्तारुढ अल साउद परिवारका बरिष्ठ सदस्यबाट बनेको हो । नयाँ युवराज घोषित गरेपछि मोहम्मद बिन नायफले पनि उनीप्रति बफादारीको कसम खाएका थिए । केही शाही पर्यवेक्षकले मोहम्मद बिन सलमान आफ्ना बाबुको शासनकालमा नै शक्तिमा आउने आंकलन यसअघि नै गरेका थिए । उनको उदयलाई साउदी अरबमा युवाहरुलाई प्रोत्साहन दिँदै गएको र वृद्ध भएपछि सत्तामा पुग्ने परिपाटीमा परिवर्तन हुन थालेको रुपमा हेरिएको छ । वर्तमान राजा सलमानले आफू राजा भएपछि नै भतिजालाई युवराज र छोरालाई सहायक युवराजको रुपमा राख्दै मन्त्रिपरिषद बनाएका थिए ।