चीनबाट उद्धार गरेकालाई जस्तो अरुलाई क्वारेन्टाइनमा राख्न नसकिने स्वास्थ्यमन्त्रीको भनाई
-
फागुन २७,२०७६ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड-१९) संक्रमणको आशंकामा चीनको वुहानबाट उद्धार गरेकालाई जस्तो अरुलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताएका छन् ।
मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री ढकालले कोरोना संक्रमणको जोखिम भएका अन्य देशबाट उद्धार गरेर सरकारले क्वारेन्टाइनमा राख्न नसक्ने बताएका हुन् ।
सेल्फ क्वारेन्टाइनमा बसेका बेला रुघाखोकी र ज्वरो आएमा अस्पतालमा परीक्षण गर्ने र कोरोना संक्रमण पोजेटिभ देखिएमा मात्र राज्यले जिम्मा लिने मन्त्री ढकालले बताए ।
‘ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्ने उनले बताए । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्यो भने त्यसको जिम्मा राज्यले लिन्छ । क्वारेन्टाइनमा बस्ने कुराका लागि भने पहिलेको भन्दा प्रोटोकल परिवर्तन गरेको पनि सुनाए।
सरकारले ठूलो समूहलाई क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा मात्र भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनलाई प्रयोग गर्ने मन्त्री ढकालको भनाइ छ ।
सरकारले चीन, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी, इटाली र इरानबाट स्वदेश फर्किन चाहने नेपालीलाई त्यहाँको चिकित्सकले ७ दिनअघिदेखि कोरोनाको संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र भए मात्रै नेपाल प्रवेश गर्न पाउँछ ।
नेपाल फर्केर १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्रै सामाजिक जीवनमा संलग्न हुन पाउने मन्त्री ढकालले बताए ।
युवा संघले कोरोनाको संंक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न माग गरेको छ ।