Trending :
 

नेप्सेमा उत्साह,७४ अंकले बढ्यो परिसूचक

फाल्गुण २८,२०७६

-

फागुन २८,२०७६ काठमाडौं ।
 
लगातार ओरोला गतिमा रहेको सेयर बजार परिसूचक नेप्सेमा बुधबार भने उत्साह फर्किएको छ । लगातार ४ दिनको बिदापछि मंगलबार कारोबार खुलेदेखि नै ओरोलो लागेको बजार कारोबार समय २ घण्टा बाँकी छँदै ६ प्रतिशतले ओरालो लागेपछि नकारात्मक सर्किट लागेर बन्द भएको थियो । 
 
तर साताको चौथो दिन बुधबार भने नेप्सेमा पुन उछाल आएको छ । बुधबार १३४९.१३ अंकमा खुलेको नेप्से ७३.७८ अंकले वृद्धि भएर १४२३.०९ अंकमा पुगेको छ । नेप्से सँगै सेनसेटिभ इनडेकसमा पनि वृद्धि भएको छ । मंगलबार ३०० बाट तल झरेको सेन्सेटिभ इन्डेक्स बुधबार १४.३३ अंकले बढेर पुनः ३०४.६९ अंकमा पुगेको छ । 
 
आज नेप्सेमा म्युचुअल फन्डबाहेक सबै उपसूचकमा वृद्धि भएको छ । सबैभन्दा धेरै व्यापार समूह ८.३ प्रतिशतले वृद्धि भएको भने निर्जीवन बिमा समूह ७.५८ प्रतिशतले बढेको छ । त्यस्तै होटल समूह, जीवन बिमा, हाइड्रोपावर, बैंकिङ र लघुवित्त समूह पनि ५ प्रतिशत भन्दा माथिले बढेको छ ।
 
नेप्सेमा बुधबार नेपाल लाइफ इन्स्योरेन्सको २३ करोड ६६ लाख भन्दा माथिको कारोबार भएको छ । यस्तै एनआइसी एसिया बैंक, एनएमबी बैंक र हिमालयन डिस्टिलरीको १० करोड माथिको कारोबार भएको छ । 
 
आज साल्ट ट्रेडिङ, लक्ष्मी लघुवित्त, एभरेस्ट इन्स्योरेन्स र स्वाभिमान माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन् । त्यस्तै नेको इन्स्योरेन्स, स्वदेशी लघुवित्त, सबैको लघुवित्त, युनाइटेड इनस्योरेन्स, आशा लघुवित्त, शिवम् सिमेन्ट र महिला सहयात्रा लघुवित्तका लगानीकर्ताले ९ प्रतिशत भन्दा माथिले कमाएका छन् । गुमाउनेमा भने म्युचुअल फन्ड र हाइड्रोपावरका लगानीकर्ता देखिएका छन् ।