वैदेशिक रोजगारीमा जानेको संख्या ४० लाख पुगेको तत्थ्यांक सार्वजनिक

फाल्गुण २९,२०७६

-

फागुन २९,२०७६ काठमाडौं ।
 
पछिल्लो दश वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ४० लाख पुगेको छ ।
 
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२०’ सार्वजनिक गर्दै पछिल्लो दश वर्षमा मात्रै ४० लाख नेपाली श्रम गर्न वैदशिक रोजगारीमा गएका छन् ।
 
तथ्याङ्कअनुसार अहिलेसम्म १ सय ३२ भन्दा बढी देशमा नेपाली श्रमिक श्रम गर्न पुगेका छन् । सन २००८/०९ देखि सन् २०१३/१४ सम्ममा प्रत्येक वर्ष औषतमा ५ लाखभन्दा बढी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेको पाइएको छ । त्यसपछि भने यो संख्या कम हुँदै गएको छ ।
 
सन् २०१८/१९ मा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या २ लाख ३६ हजार २ सय ८ जना छ । त्यस्तै गत वर्ष यस्तो संख्या ३ लाख ५४ हजार ९८ रहेको थियो । 
 
प्रतिवेदन सार्वजनिक कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले वैदेशिक रोजगारका लागि सरकारले लिएको नीतिको कार्यान्वयन र समस्याको समाधानका लागि प्रतिवेदन महत्त्वपूर्ण हुने बताए । उनले वैदेशिक रोजगारीमा जानेलाई रोक्ने गरी सरकारले देशभित्रै रोजगारी सिर्जना गर्न यो तथ्याङ्कले सघाउ पुर्‍याउने बताए ।
 
वैदेशिक रोजगारीमा जानेहरूमध्ये ८८ प्रतिशत मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब र कुवेतमा रहेको पाइएको छ । ८० प्रतिशतभन्दा बढी १८ देखि ३५ वर्ष उमेर समूहका मानिसहरू वैदेशिक रोजगारीमा जाने गरेका छन् ।
 
त्यस्तै सन् २०१८/१९ मा ५९ प्रतिशत अदक्ष श्रमिकहरू वैदेशिक रोजगारीमा गएका छन् । मन्त्रालयका सचिव विनोद केसीले वैदेशिक रोजगारीमा जाने श्रमिकको क्षमता बढाउनुपर्ने प्रतिवेदनले देखाएको बताए । उनले श्रमिकहरू क्षमतावान् भएर नगएको कारणले वैदेशिक रोजगारीमा विभिन्न समस्या उत्पन्न हुने गरेको समेत बताए । उनले वैदेशिक रोजगारीमा अझै पनि सुशासन कायम चुनौती देखिएको बताए ।
 
प्रतिवेदनले वैदेशिक रोजगार क्षेत्रको सुधारका लागि दीर्घकालीन उद्देश्यसहित स्पस्ट धारणा बनाउनुपर्ने, स्थानीय र प्रदेश तहलाई समेत समेटने गरी उच्च स्तरीय समिति निर्माण गर्नुपर्ने, त्यस्तै सामाजिक सुरक्षा र मतदानको अधिकार दिनेलगायत सुधारका कार्यहरू गर्नुपर्ने आवश्यकता औंल्याएको छ ।
 
त्यस्तै आन्तरिक र वैदेशिक रोजगारीको विषयवस्तुलाई एक-अर्काका परिपूरकका रूपमा स्थापित गरी व्यवस्थित गर्नुपर्ने, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीको स्तरोन्नति गरी प्रभावकारी बनाउनुपर्ने विषयमा ध्यान दिनुपर्ने कुरा प्रतिवेदनमा उल्लेख छ ।