एचआइभीको उपचारमा नयाँ सम्भावना,एचआइभी लागेका दोस्रो बिरामी पनि ठीक भए
-
फागुन ३०,२०७६ काठमाडौं ।
लन्डनका एक व्यक्ति एचआइभी एड्स ठीक हुन सफल दोस्रा बिरामी बनेका छन् । एडम कास्टिलेजो नामक ती व्यक्ति ‘एन्टि रेट्रोभाइरल थेरापी’ लिन बन्द गरेको तीस महिनापछि पनि भाइरस मुक्त छन् ।
यसमा उनी एचआइभीको औषधिले होइन अर्कै ‘स्टेम-सेल ट्रिटमेन्ट’ मार्फत ठीक भएका हुन् । सो ट्रिटमेन्ट उनले वास्तवमा क्यान्सरका लागि प्राप्त गरेको ल्यान्सेट एचआइभी जोर्नलले रिपोर्ट गरेको छ । उक्त स्टेम सेल्स डोनेट गर्नेहरुको जिन असामान्य भएकाले नै उपचारले काम गरेको बताइएको छ जसले ती डोनरहरुलाई र अहिले कास्टिलेजोलाई एचआइभी विरुद्ध सुरक्षा दिइरहेको छ ।
यसअघि २०११ मा पनि ‘बर्लिन पेसेन्ट’ नामले प्रख्यात टिमोथी ब्राउन एचआइभीबाट ठीक भएका थिए । तीन वर्ष अगाडि उनीपनि यही ट्रिटमेन्टबाट ठीक भएका हुन् । स्टेम सेल्स प्रत्यारोपणले बिरामीको शरीर भित्र भाइरसलाई फैलनबाट रोक्न सक्छ भने बिरामीको आफ्नो प्रतिरोघात्मक सेल्सलाई पनि प्रतिस्थापन गर्ने गर्दछ ।
हाल ४० वर्षका कास्टिलेजोको रगत, सिमेन र टिस्यु कतैपनि सक्रिय एचआइभी संक्रमण छैन । यस्तोमा उनी एचआइभी मुक्त भएको एक वर्ष पछाडि पनि भाइरस रहित भएकाले नै ठीक हुने दोस्रो सफल बिरामी बनेका हुन् । युनिभर्सिटी अफ क्याम्ब्रिजका प्रमुख अनुसन्धानकर्ता रभिन्द्र कुमार गुप्ताले बीबीसीसँग भनेका छन्, “यो खबरले एचआइभी ठीक हुन सक्ने निश्चित गर्छ । हाम्रो खोजले स्टेम सेल प्रत्यारोपण एचआइभीको उपचार हुन सक्ने स्पष्ट पार्छ ।”
तर अझैपनि यो उपचार विश्वभरका लाखौँ एचआइभी संक्रमितहरुका लागि उपचार बन्न नसक्ने बताइएको छ । किनकी यो थेरापी मुख्यगरी एचआइभी भन्दा पनि बिरामीको क्यान्सर ठीक गर्नका लागि प्रयोग गर्ने गरिएको छ । विज्ञहरुका अनुसार एड्स ठीक गर्न हाल उपलब्ध एचआइभी विरुद्धका औषधिहरु नै प्रभावकारी छन् जसले मान्छेलाई लामो स्वस्थ जीवन दिलाइरहेको छ ।
प्रोफेसर गुप्ता भन्छन्,“हामीले यो बिर्सनु हुँदैन कि स्टेम सेल ट्रिटमेन्ट वास्तवमा उच्च जोखिमयुक्त उपचार विधि हो र केबल ती बिरामीमा मात्र अन्तिम विकल्पका रुपमा अपनाउन मिल्छ, जो एचआइभी सहित प्राणघातक क्यान्सरबाट पनि ग्रसित छन् । तापनि यसले जिन थेरापी मार्फत एचआइभीको वास्तविक उपचार पत्ता लगाउने नयाँ सम्भावना भने खुलाएको छ ।”बीबीसी