चीनमा कोरोनाका बिरामीको सङ्ख्या घट्दै
-
चैत ३, २०७६ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) को उद्गमस्थल चीनमा सङ्क्रमितको र ज्यान गुमाउनेको सङ्ख्या घट्दै गएको छ ।
चीनमा कोरोना भाइरसका कारण तीन हजार दुई सय १३ जनाको ज्यान गएको छ भने ८० हजारभन्दा बढीमा सङ्क्रमण देखिइसकेको छ । तर पछिल्ला दिनमा सङ्क्रमण र ज्यान गुमाउनेको सङ्ख्या स्थिर जस्तै छ ।
आइतबार चीनमा १६ जना नयाँ व्यक्तिमा भाइरसको सङ्क्रमण देखिएको थियो भने १४ जनाले ज्यान गुमाएका थिए ।
८० हजारभन्दा बढीमा सङ्क्रमण देखिएकोमा ६७ हजार सात सय ५८ जना उपचारपछि घर फर्किएका छन् । अहिले चीनमा कोरोना बिरामीको सङ्ख्या १० हजारभन्दा कम छ । ९ हजार आठ सय ८९ जनाको उपचार भइरहेको छ । उपचार गराइरहेका मध्ये तीन हजार दुई सय जना गम्भीर छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाको कारण अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ६ हजार पाँच सय २१ पुगेको छ । एक लाख ६९ हजार ९ सय १५ जनामा भाइरसको सङ्क्रमण पाइएको छ ।
चीनपछि इटलीमा धेरैले ज्यान गुमाएका छन् । इटलीमा एक हजार आठ सय ९ जनाको ज्यान गइसकेको छ । इरानमा पनि सात सय २४ जनाको ज्यान गइसकेको छ ।