Trending :
 

नेपाल पुनर्बिमा कम्पनीको आईपीओ खुला

चैत्र ०४,२०७६

-

चैत ४,२०७६ काठमाडौं ।
नेपाल पुनर्बिमा कम्पनीको प्रारम्भिक सार्वजनिक निष्काशन(आईपीओ) मङ्गलबारदेखि खुला भएको छ । १ अर्ब ६० करोड रूपैयाँ बराबरको १ करोड ६० लाख कित्ता आईपीओका लागि बिहान १० बजेदेखि आवेदन खुला भएको पुनर्बिमा कम्पनीले जनाएको छ । 
 
उक्त सेयरमध्ये ५ प्रतिशतले हुन आउने ८ करोड बराबरका ८ लाख कित्ता सेयर सामूहिक लगानी कोष (म्युचुअल फन्ड) लाई र ७३ लाख ५० हजार रूपैयाँ बराबरका ७३ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई आरक्षण दिइएको छ । 
 
बाँकी हुन आउने १ करोड ५१ लाख २६ हजार ५ सय कित्ता सेयर सर्वसाधारणका लागि बिक्री हुनेछ । उक्त आईपीओ छिटोमा ७ गते र ढिलोमा चैत १८ गते बन्द हुनेगरी निष्काशन मिति तय गरिएको नेपाल पुनर्बिमा कम्पनीले जनाएको छ ।
 
नेपाल पुनर्बिमा कम्पनीको उक्त आईपीओ ४ महिनाको अन्तरपछि आएको हो । यसअघि गत कात्तिकमा शिवश्री हाइड्रोपावरको सेयर निष्काशन भएयता कुनै आईपीओ खुला भएको थिएन । उता आकारको हिसाबले हेर्ने हो भने यो अहिलेसम्मकै दोस्रो ठूलो आईपीओ हो ।