Trending :
 

कोरोनाका कारण पोर्चुगलमा आपतकाल घोषणा, दुईको मृत्यु, ६ सय बढी संक्रमित

चैत्र ०६,२०७६

-

चैत ६,२०७६ काठमाडौं ।
 
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण पोर्चुगलमा हालसम्म दुई जनाको मृत्यु भएको छ । हालसम्म ६ सय ४२ जनामा संक्रमण देखिएको छ ।
 
कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले आपतकालीन राज्यको घोषणा गरेको छ ।
 
प्रधानमन्त्री एन्टोनियो कोस्टाले कोरोनाको संक्रमण फैलिन नदिन सो निर्णय गरेको जनाउँदै उच्च सुरक्षा सतर्कता अपनाउन आम नागरिकलाई अपिल गरेका छन् ।
 
सान्तान्देर तोत्ता बैंकका सञ्चालक समिति अध्यक्ष ७४ वर्षीय आन्तोनिउ भियरा मुन्तेइरुको बुधबार मृत्यु भएसँगै पोर्चुगलमा ज्यान गुमाउनेको संख्या २ पुगेको हो ।
 
कोरोनाका कारण उनको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । उनी २०१९ मा सान्तान्देर तोत्ता ग्रुपका अध्यक्ष बनेका थिए ।
 
पोर्चुगलमा पछिल्लो तथ्यांक अनुसार ६ सय ४२ जना संक्रमित मध्य ४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
 
यसअघि सोमबार ८० वर्षीय मारिओ भेरिस्सिमुको कोरोना संक्रमणकै कारण निधन भएको थियो ।
 
यसैबीच पोर्चुगलमा एक जना नेपालीलाई पनि कोरोना संक्रमणको यसअघि नै पुष्टि भएको थियो भने भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको थियो ।