Trending :
 

कोरोना सङ्क्रमित ८४ हजारभन्दा धेरै उपचारपछि निको भएर घर फर्किए, १७३ देशमा संक्रमण

चैत्र ०६,२०७६

-

चैत ६,२०७६ काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका झण्डै साढे ८४ हजार मानिस उपचारपछि निको भएका छन् । 
 
अहिलेसम्म विश्वका एक सय ७३ देश र जापानको योकोहामा बन्दरगाहमा पुगेको अन्तर्राष्ट्रिय क्रुज शिपमा फैलिएको कोरोनाका कारण दुई लाखभन्दा धेरै सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये झण्डै साढे ८४ हजार तीन सय ८६ जना उपचारपछि निको भएका हुन् । 
 
सङ्क्रमितमध्ये एक लाख २५ हजार तीन सय ६० जनाले उपचार गराइरहेका छन् । सङ्क्रमणबाट अहिलेसम्म आठ हजार ९ सय ४४ जनाको ज्यान गएको छ । 
 
त्यस्तै पछिल्लो २४ घण्टामा इटलीमा थप चार सय ७५ जनाको ज्यान गएसँगै इटलीमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ९ सय ७८ पुगेको छ । कोरोनाको उद्गमस्थल चीनमा अहिलेसम्म सबैभन्दा धेरै ३ हजार २ सय ३७ जनाको ज्यान गएको छ । 
 
यसैबीच युरोपियन युनियन (ईयू) ले आफ्नो सदस्यता पाएका राष्ट्रबाट पुग्ने सबै नागरिकलाई फर्काउन थालेको छ । २७ वटा देशले ३० दिने प्रतिबन्ध कार्यान्वयनको लागि विमानस्थल पुगेकाहरुलाई पनि फर्काउन थालेको बीबीसीले जनाएको छ । 
 
यस्तै अमेरिका र क्यानाडाले पनि आफ्नो सीमा नाका बन्द गर्ने निर्णय गरेका छन् । कोरोना सर्ने जोखिम रहेको भन्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच व्यापारमा कुनै असर नपर्ने गरी दुई देशको सीमा बन्द गर्ने सहमति भएको हो । 
 
यसैगरी बेलायतले पनि शुक्रबार देखि अनिश्चितकालको लागि सबै विद्यालय बन्द गर्ने निर्णय गरेको बीबीसीको खबरमा उल्लेख छ ।