नेपालमा हुने सबै खेलहरु बैसाख तेस्रो सातासम्मका लागि स्थगित

चैत्र ०६,२०७६

-

चैत ६,२०७६ काठमाडौं ।
नेपालका सम्पूर्ण रंगशाला र खेलस्थलहरु बैशाख तेस्रो सातासम्म बन्द हुने भएका छन् ।
 
सरकारले भिडभाड र बढी मानिस भेला हुने सबै कार्यक्रम तथा स्थानहरु आगामी बैशाख १८ गतेसम्म बन्द गर्न निर्देशन दिएपछि रंगशाला, पौडी पोखरी तथा अन्य खेल स्थलहरु पनि बन्द हुने भएका हुन् ।
 
विश्वव्यापी स्वास्थ्य महामारी कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले हिजो केही कडा प्रावधान लागु गरेको छ ।
 
नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार मात्रै कम्तिमा एक साताका लागि सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएको थियो ।
 
राखेपले त्यस पश्चात भने परिस्थिति हेरेर निर्णय गरिने जानकारी गराएको थियो ।
 
तर सरकारको पछिल्लो निर्देशनपछि अब रंगशालाहरु कम्तिमा बैशाख १८ सम्म बन्द रहने भएका छन् ।
 
देशका सम्पूर्ण ठूला खेलकुद प्रतियोगिताहरु यसअघि नैं अनिश्चितकालको लागि रोकिएका छन् ।