कोरोना छोराछोरी, नातिनातिना कोही पनि होइन् अंकमाल र चुम्बन जस्ता कार्यहरु रोक्नुहोला : स्वास्थ्यमन्त्री ढकाल
-उमा के.सी.
चैत ६,२०७६ काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमण हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन ।
मन्त्री ढकालले बजारमा आएका नकारात्मक हल्लाको पछाडी लाग्नुको सट्टा सचेत भएर बस्न समेत सुझाव दिएका छन् । उनले यदि कोरोना भाइरसँको संक्रमण पुष्टी भएका बिरामीहरुको सम्पूर्ण उपचार सरकारले गर्ने पनि जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल प्रेस काउन्सिलको आयोजनामा बिहिबार राजधानीमा आयोजित कोरोना संक्रमण र मिडियाको भुमिका विषयक सचेतनामुलक कार्यक्रममा मन्त्री ढकालले कोरोना छोराछोरी, नातिनातिना, आमाबुबा कोही पनि नभएको भन्दै विदेशबाट आउँने आफन्तसँग भेट्नासाथ अंकमाल तथा चुम्बन जस्ता कार्यहरु नगरी उनिहरुलाई केही दिन सेल्फ क्वारेन्टाईनमा राख्न आग्रह गरे ।
उनले सबै प्रदेश र स्थानिय तहको समन्वयमा भाइरस परीक्षणको व्यवस्था गर्ने र कोरोना संक्रमण भएको पाइएमा बिरामीलाई क्वारेन्टाईनमा राखेर उपचार गर्न सरकार तयारी अवस्थामा रहेको पनि स्पष्ट पारे ।
मन्त्रालयका प्रवक्ता डा.विकाश देवकोटाले हालसम्म पाँच सय २९ जनामा कोरोनाको आसंकामा ल्याब टेष्ट गरिएपनि सबैमा नेगेटिभ देखिएको र उनिहरु उपचारपछि घर फर्केको जानकारी दिए ।
उनले व्यक्तिले जुनसुकै वस्तु छुदा हात धुन र घरमै बस्नु नै सबैभन्दा उत्तम उपाय भएको समेत जनाए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरे । आचारसंहिता उल्लंघन नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई सञ्चारकर्मीको जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न अनुरोध समेत गरेका छन् । उनले भ्रामक समाचार प्रसार गर्ने विभिन्न अनलाईन, पत्रपत्रिका तथा सामाजिक सञ्जालमाथी पटक पटक पत्र काटेर मात्रै नबस्ने र तत्काल बन्द गर्नेसम्मको कारबाही गर्न पछि नहट्ने बताए ।